PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

कर्णालीमा प्रदेश सरकार आएपछि बिरामीको तत्काल 'रेस्क्यु': एकपटकको ८ लाख, प्रदेश सरकारसँग छैन हेली



पी बी खड्का

कर्णालीमा प्रदेश सरकार आएपछि बिरामीको तत्काल 'रेस्क्यु': एकपटकको ८ लाख, प्रदेश सरकारसँग छैन हेली

सुर्खेत: केही दिनअघि हुम्लामा पहिचान हुन नसकेको रोगले ९ जना मृत्यु भएको खबर प्रदेश सरकारले पायो। तत्काल प्रदेश सरकारले सुर्खेतबाट औषधि र चिकित्सकसहितको हेलिकप्टर प्रभावित क्षेत्रमा पठायो।

वैशाख १५ गते बिहानै हुम्लाको ताजाकोट गाउँपालिकामा प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. टेकराज भट्टराई, डा. केएन पौडेल र केशव अधिकारी, एकजना प्यारामेडिक्स, निर्देशनालयका कर्मचारी श्याम आचार्य र ल्याब टेक्निसियनको टोली प्रभावित क्षेत्रमा पुगी काम थाले।

चिकित्सकको टोलीले मौसमी फ्लु फैलिएको भन्दै नियन्त्रण गर्ने प्रयासमा जुटिरहेको छ। चिकित्सको टोली पुगेपछि त्यस ठाउँमा एक जना गम्भीर संक्रमण भएको व्यक्तिको ज्यान गएपनि अन्य बिरामीहरुको उपचार भइरहेको छ।

रोगको पहिचानपश्चात बिरामीलाई औषधि दिएपछि विस्तारै नियन्त्रणमा आउनेक्रममा छ। प्रदेश सरकारको तत्परताले थप यहाँका नागरिकले अकालमै ज्यान गुमाउनु परेन। सामाजिक विकास मन्त्री दल रावल स्वंयम चिकित्सकहरुसंगै प्रभावित क्षेत्रमा पुगेका थिए।

त्यस्तै, बुधवारमात्रै प्रदेश सरकारले एकै दिन दुई जना महिलाको उद्धार गर्‍यो। बुधवार बिहान हुम्लाको चंखेली गाउँपालिकाको मेल्छ स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्ट गर्‍यो। सोही दिन दिउँसो दुई बजे हुम्लाकै ओदानचुली गाउँपालिका वडा नं. १ कि ३५ वर्षीया राजकला महतारोको उद्धार गरि सुर्खेत ल्याईयो।

दुवैजनालाई थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत ल्याईएको हो। स्वास्थ्य चौकीमा कार्यरत अनमी निशा दाङ घोराही नगरपालिकामा घर भइ हुम्लामा कार्यरत थिइन्। गर्भपतन गराउँदा उनको अत्यधिक रक्तश्राव भएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

त्यस्तै, महताराको पनि ‘सालनाल’ पहिलेनै खसेका कारण बच्चा जन्माउन नसकेरै हेलिकप्टरमार्फत उद्धार गरियो। यसरी अकालमै ज्यान गुमाउँदै आएका कर्णालीका नागरिकको प्रदेश सरकारले तत्काल ‘रेस्क्यु’ गर्ने गरेको छ। प्रदेश सरकारको यो सक्रियताले आम नागरिकको स्याबासी नपाउने कुरै भएन।

यसरी आईपर्नै आपत, बिपत्तिमा प्रदेश सरकारको एक्सनले पछिल्लो समय संघीयता आएको महसुस भएको राजकलाका श्रीमान् बिर्खबहादुर महताराको भनाई छ। ‘मलाई खुशी लागेको छ। मन्त्रीले आफै हेलिकप्टर लिएर नगएको भए ज्यान रहने थिएन,’ उनले भने, ‘घरदैलोमा सिंहदरबार आयो भन्थे सायद यस्तै दुःख सास्ती भएका बेला हेर्ने भनेरै होला। सरकार आएको महसुस भएको छ।’

त्यस्तै, घरदैलोमा सरकार आएको बल्ल कर्णालीका नागरिकले महसुस गर्न पाएको वीरेन्द्रनगर–६ का ओम शाही बताउँछन्। ‘विभिन्न समयमा उपचार नै नपाएर अकालमै ज्यान गुमाउने कर्णालीका नागरिक पछिल्लो समय प्रदेश सरकारले तत्काल रेस्क्यु गर्ने गरेको छ। यो सरकारको राम्रो पक्ष हो,’ उनले भने, ‘यसरी ज्यान गुमाउनबाट सरकारले जोगाएको छ। कतिपय सुत्केरीले स्वास्थ्य संस्थाको मुखै नदेखेर गर्भावस्थाको बच्चासहित आमाले ज्यान गुमाएका तितो यथार्थ पनि छन्। सरकारले कम्तीमा पनि प्रदेशको ठुलो अस्पताल ल्याएर उपचार गराउने कोसिस गरेको छ। सरकारको यो कदमले बल्ल संघीयता आए जस्तै भएको छ।’

यता, सामाजिक विकास मन्त्री दल रावलले पनि जति सक्दो समस्या आउनै नदिने र यदी आइहाले तत्काल रेस्क्यु गर्ने प्रयास गरेको बताए। ‘सकभर त्यस्तो कुनै आपत्ति नआओस् भन्ने हो। यदि आइहोल प्रदेश सरकारको तर्फबाट जति सक्यो छिटो उद्धार गर्ने प्रयास गरेका छौँ। भौगोलिक विकटता र गरीबिले उपचार अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस् भनेर नै  हेलिकप्टर प्रयोग गरेर उद्धार गर्ने प्रयास गरेका छौँ,’ फेरि थपे,‘कोही कसैले पनि उपचार अभावमा ज्यान गुमाउन नपरोस भनेरै हामीले भाडामै भएपनि हेलिकप्टरबाट तत्काल उद्धार गर्ने गरेका छौँ।’

सामाजिक विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमात्रै ७ जना सुत्केरीको उद्धार गरिएको छ भने, चालु आर्थिक वर्षको बैशाखको १८ सम्ममा १६ जनाको उद्धार गरिएको छ। 

विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य केन्द्र

प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा विशेषज्ञसहितको एउटा प्राथमिक स्वास्थ्य केन्द्र राख्ने योजना बनाएको बताए। जसका लागि स्वास्थ्य मन्त्रालय प्रस्ताव गर्ने मन्त्री रावलको भनाई छ।

‘हवाई उद्धार भनेको त एक्कासी आइपर्ने समस्यामा परेकालाई थप जोखिम मोल्न नपरोस् भनेर हो। सधैभरी हवाई सेवा हुन्छ भन्ने पनि छैन,’ उनले भने,‘प्रदेशका प्रत्येक स्थानीय तहमा एक जना विशेषज्ञ डाक्टरसहितको प्राथमिक स्वास्थ्य केन्द्र राख्ने भन्ने योजनामा छौँ। स्वास्थ्य मन्त्रालयमा पनि हामी यो विषयमा सहयोगको लागि अनुरोध गर्छौ। यदि केही उपाय लागेन भने पनि हामी प्रदेश सरकारको खर्चबाट भएपनि सेवा दिन्छौँ।’

 

काठमाडौबाट हेली मगाउँदा खर्चिलो

त्यस्तै, प्रदेश सरकारको आफ्नै हेलिकप्टर नहुँदा निकै सास्ती खेप्नु परेको छ। सरकारसहित आम कर्णालीवासी पीडित छन्। भौगोलिक विकटता र यातायातको पहुँच पुग्न नसक्दा कतिपयले उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। प्रदेश सरकारले काठमाडौंबाट हेलिकप्टर मगाउनुको विकल्प केही छैन्। जसले गर्दा खर्चिलो हुने गरेको छ।

‘प्रदेशमै हेलिकप्टर छैन,’ मन्त्री रावलले भने,‘काठमाडौंबाट हेलिकप्टर मगाउनुको विकल्प छैन। एक पटकमा झण्डै ८ लाख खर्च हुन्छ।’

प्रदेशमै भएको भए सहज र सहुलियत हुने उनले बताए। हाल हेलिकप्टरले प्रति घण्टा एक लाख १० हजार देखि एक लाख २० हजारसम्म भाडा असुल्दै आएका छन्।

आपत विपतमै खर्चने गरी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ मा २ करोड रकम विनियोजन गरेकोमा एक करोड खर्च भइसकेको मन्त्रालयले जनाएको छ।

अबको ६ महिनामा चार वटा हेलिकप्टर प्रदेशको राजधानी सुर्खेतमा राख्ने गरी काम अघि बढेको मन्त्री रावलले बताए। सुर्खेतमा नेपाली सेनाले नियमितरुपमा हेलिकप्टर राख्नकै लागि जग्गाको व्यवस्थापन गर्न जुटेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell