PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सरकारको नीति तथा कार्यक्रम: प्रधानमन्त्री ओलीका वर्षभरका भाषणहरूको 'कम्पाइलेसन'



विधुर ढकाल

सरकारको नीति तथा कार्यक्रम: प्रधानमन्त्री ओलीका वर्षभरका भाषणहरूको 'कम्पाइलेसन'

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको तर्फबाट सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमहरू संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेकी छन्। 


सरकारको तर्फबाट प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरू सरकारका नाराहरू केपी शर्मा ओली प्रधानमन्त्री भएपछि वर्षभर गरेका भाषणहरूको संयुक्त दस्ताबेजको रूपमा देखिएको छ।

 
प्रधानमन्त्री ओलीले बितेको एक वर्षमा दिएका नाराहरू तथा कार्यक्रमहरूलाई सरकारको नीति तथा कार्यक्रमहरूमा समावेश गरिएको छ।

 
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २४ गते देखि भन्दै आएको पृथकतावाद एवं विखण्डनवादी विचारको राजनीति अन्त्य भएको कुरा नीति तथा कार्यक्रमको सुरुवातमै उल्लेख गरिएको छ।

त्यस्तै पानी जहाज र रेल मार्गको विकासमा सरकारले चालेको कार्यक्रमका बारेमा प्रधानमन्त्री ओलीले हरेक जसो भाषणमा भन्दै आएका छन्। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत यसलाई प्राथमिकताका साथ राखिएको छ। 


'विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्नेल विश्वास मजबुत हुँदै गएको छ। नेपालका नदीहरूमा स्टिमर चल्न थालेको छ। समुद्र र जलमार्गमा नेपालको झण्डासहितको पानीजहाज सञ्चालनमा आउने, नेपालभित्रै रेलबाट यात्रा गर्न सकिने, पहाडहरूमा सुरुङ निर्माण गरी सडकको दुरी छोट्ट्याउने, सिँचाइ सुविधा नभएका स्थानमा पानीको स्रोत भएका स्थानबाट सुरुङको माध्यमबाट पानी ल्याउने र आफ्नै स्याटेलाइटमार्फत् सूचना प्राप्त हुनेजस्ता विकासका सोचहरू यथार्थमा परिणत हुँदै छन्,' नीति तथा कार्यक्रममा भनिएको छ। 


त्यस्तै तुइन विस्थापनको चर्चा यसबीच प्रधानमन्त्री ओलीले पटक पटक दोहोर्या उँदै आएका छन्। नीति तथा कार्यक्रममा पनि यसले प्राथमिकता पाएको छ। 'पुल लिएर सरकार धौलाकोट पुगेको छ। तुइनमा जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न झोलुङ्गे ज पुल लिएर सरकार खोला खोलामा पुगेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ। 


प्रधानमन्त्री ओलीले भाषणका क्रममा भन्ने गरेको अर्को वाक्य हो, 'सरकार हरेक दिन एक कदम अगाडि बढेको छ।' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, 'हरेक दिन एक कदम अगाडि बढ्ने सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण नेपालीमा उत्साहको सञ्चार भएको छ।' प्रधानमन्त्री ओलीले बितेको एक वर्षलाई समृद्धिको आधार वर्षको रूपमा व्याख्या गर्दै आएका छन्। नीति तथा कार्यक्रममा पनि बितेको वर्षलाई आधार वर्षको रूपमा चर्चा गरिएको छ।


'आफ्नो कार्यकालको पहिलो वर्षलाई समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउन मेरो सरकार सफल भएको छ,' नीति तथा कार्यक्रममा अगाडि भनिएको छ, 'अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीव्र गतिमा उत्कृष्ट र उपलब्धिहरू हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ।आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।'


त्यस्तै नीति तथा कार्यक्रममा गत वर्ष प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनलाई जोड दिइएको छ। आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने दाबी गरिएको छ। 


त्यस्तै प्रधानमन्त्री ओलीले वैशाख १ गते सार्वजनिक गरेको प्रत्येक नेपालीको बैंक खाता अभियान पनि नीति तथा कार्यक्रममा परेको छ।
प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध नेपाल निर्माणको आधार कार्यक्रम अन्तर्गत आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ। 


त्यस्तै नीति तथा कार्यक्रममा 'चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नै देश' अभियान सञ्चालन गरिने उल्लेख छ। यस अभियान अन्तर्गत स्नातक युवाहरूलाई फेलोसिपसहित मुलुकभर परिचालन गरिने उल्लेख छ।


त्यस्तै प्रधानमन्त्री ओलीले यो एक वर्ष महिला हिंसा अन्त्यका विषयमा धेरै पटक बोले यही विषय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ। 


'मेरो सरकारले अब महिलामाथि हिंसा हुन दिनेछैन। हिंसा पीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानुनी उपचारका लागि पुनर्स्थापना केन्द्रहरू विस्तार गरिनेछ,' नीति तथा कार्यक्रममा अगाडि भनिएको छ, 'दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूकोहवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।' 


नीति तथा कार्यक्रममा समाजमा रहेका दाइजो, तिलक, बालविवाह, छुवाछुत र छाउपडीजस्ता कुरीति र कुप्रथा अन्त्य गर्न सचेतनामूलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।


त्यस्तै वर्ष अगाडि देखि प्रधानमन्त्री ओलीले पटक भन्दै आएको नारा हो 'अब नेपालमा कोही भोकै पर्दैन। कोही भोकले कोही मर्दैन'। सरकारको नीति तथा कार्यक्रममा पनि यसले प्राथमिकता पाएको छ। 


'अब नेपालमाकोही भोकै पर्दैन, भोकले कोही मर्दैन। शासकीय स्वच्छता र सुशासन प्रवर्द्धनलाई सरकारले सर्वोपरि प्राथमिकतामा राखेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ। 


त्यस्तै नीति तथा कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्दै आएको 'म भ्रष्टारचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न' भन्ने भनाइ पनि नीति तथा कार्यक्रममा परेको छ। 


'सबै क्षेत्रमा सदाचार पद्धति अवलम्बन गरिनेछ। राज्यको सम्पत्तिमाथि अनधिकृत दोहन गर्ने प्रवृत्तिप्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत भएको छ र हुनेछ,' नीति तथा कार्यक्रममा अगाडि भनिएको छ, 'सबै सार्वजनिक पदाधिकारीहरूलाई म भ्रष्टारचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने प्रतिबद्धता आत्मसात् गरी सेवा प्रवाह गर्न निर्देशित गरिएको छ. भ्रष्टानचार हुन नदिन र भ्रष्टाचारमा संलग्न न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राखिने छैन।'


सरकारले यसबीच विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ। त्यसपछि प्रधानमन्त्री ओलीले पटक पटक भन्दै आएको हिंसात्मक गतिविधि नियन्त्रणको कुरा पनि नीति तथा कार्यक्रममा परेको छ। 


'अब मुलुकमा हिंसाले स्थान पाउने छैन। नागरिकको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि जुनसुकै प्रकारको हिंसात्मक गतिविधि प्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत हुनेछ,' अगाडि भनिएको छ, 'संविधान र कानुन विपरीतका कार्यमा संलग्न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने र सामाजिक सद्भाव बिथोल्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।'


प्रधानमन्त्री ओलीले आफ्ना हरेक भाषणमा विकासका कुरालाई जोड दिँदै भाषण टुंग्याउने क्रममा भन्ने गर्थे 'यो एक वर्ष आधार वर्ष हो। आगामी वर्ष उपलब्धिको वर्ष हुने छन्।'


राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यही कुरालाई जोड दिँदै अन्त्य गरिएको छ। 


'मेरो सरकारले समृद्धिको आधार वर्षमा प्राप्त उपलब्धिहरूलाई समुन्नत बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रको तीव्र विकास गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ,' नीति तथा कार्यक्रममा अन्त्यतिर भनिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell