
काठमाडौँ : सरकारले काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको दुई वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार सरकारको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन्।
जग्गा विवादका कारण लामो समयदेखि अन्योलमा रहेको उक्त रंगशालाको विवाद समाधान भइसकेको यसअघि राष्ट्रिय खेलकूद परिषद् राखेपले पनि जनाएको थियो।
गत चैतमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे उपल्बधि घोषणा कार्यक्रममा पनि मुलपानी मैदानलाई २ वर्ष भित्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइसक्ने घोषणा गरेका थिए।
यसैगरी निजि क्षेत्रसँगको सहकार्यमा खेल मैदानहरु निर्माण गर्ने र क्रिकेटको एकेडेमी निर्माण गर्ने कार्यक्रममा उल्लेख छ। 'निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट लगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ। क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ।'
काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीएआर) तयार गरिने भएकोछ।
सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइने विषय निति तथा कार्यक्रममा समावेश छ।
यस्तै आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी सन् २०१९ भित्रै १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गरिने पनि कार्यक्रममा उल्लेख छ। यसअघि नै आयोजना हुने घोषणा भएको १३औँ साग भौतिक पूर्वाधार नबनेका कारण आगामी डिसेम्वरमा गर्ने घोषणा भएको छ।