PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

केपीएल : सोमपालको अलराउण्ड प्रदर्शनमा एपीएफलाई १ विकेटले हराउँदै आर्मी फाइनलमा, न्यु होराइजनसँग उपाधि भिडन्त



पहिलोपोस्ट

केपीएल : सोमपालको अलराउण्ड प्रदर्शनमा एपीएफलाई १ विकेटले हराउँदै आर्मी फाइनलमा, न्यु होराइजनसँग उपाधि भिडन्त
फोटोहरु : विकेटनेपाल

सुर्खेत : सुर्खेतमा भइरहेको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपीएल २ को उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र न्यु होराइजन भिड्ने भएका छन्।

शुक्रवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

त्यसअई होराइजनले आयोजक कर्णाली ११ लाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

फाइनल खेल शनिवार सुर्खेतस्थित कालिन्चोक मैदानमा हुनेछ।

विभागीय डर्बीमा एपीएफमाथि आर्मीलाई रोमाञ्चक जित दिलाउने क्रममा सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे।

उनले ३ विकेट लिनुका साथै सर्वाधिक ३१ रन बनाए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सकेको थियो। एपीएफको लागि शरद भेसावकरले सर्वाधिक ३०, भुवन कार्कीले १९, पुरन बिकले १३, शंकर रानाले १२ रन बनाए।

एपीएफलाई कम स्कोरमा रोक्न आर्मीकार सोमपाल कामीले ३, सुशन भारिले २ तथा जितेन्द्र मुखिया र साहब आलमले १/१ विकेट लिएका थिए।

८७ रनको लक्ष्य आर्मीले १७.४ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको हो। आर्मीको लागि सोमपाल कामीले सर्वाधिक ३१ रन बनाए। यस्तै जितेन्द्र मुखिया र रोहित पौडेलले १२-१२ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा ७३ रनमा आर्मीले ९ विकेट गुमाईसकेको थियो जुन अवस्थामा दशौँ विकेटको लागि जितेन्द्र मुखिया र साहब आलमले १५ रनको साझेदारी गर्दै टिमलाई रोमान्चक जित दिलाएका थिए। आलम २ रनमा नटआउट रहे।

एपीएफको लागि कमल सिंह ऐरी र यज्ञमान कुमालले २/२ विकेट तथा अमर सिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए।

कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell