काठमाडौं : ललितपुरको च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोलि नेपाल एपीएफ क्लबालाई २-१ ले पराजित गर्दै च्यासल उपाधिनजिक पुगेको हो। अब च्यासलले उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
सरस्वतीले बिहीबार जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
च्यासललाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अर्मान्डले दुवै गोल गरे। एपीएफका प्रदीप लामाले एक गोल फर्काए।
च्यासलका छिरिङ गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ५ हजार रुपैया पाए।
प्रतियोगिताको फाइनल खेल आइतबार ३ बजेपछि नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ।
प्रतियोगिता अन्तर्गत शनिबार दीपशिखा युवा समूहको महिला फुटबल टोली र प्रदेश ३ को महिला फुटबल टोलीबीच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ। खेल ३ बजेपछि हुनेछ।
१५ बैशाखबाट शुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।