PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हाइवेलाई रनवे बनाउने सरकारको योजना, कति सम्भव ?



वसन्तराज उप्रेती

हाइवेलाई रनवे बनाउने सरकारको योजना, कति सम्भव ?
फोटो पूर्वपश्चिम राजमार्गबाट खिचिएको भरतपुर विमानस्थलको हो

काठमाडौँ :  ‘राष्‍ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्‍ने धावनमार्गको रूपमा विस्तार गरिनेछ।'

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको २१८ बूँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विमानस्थलबारे तीन बूँदा उल्लेख थिए। त्यसमध्ये एउटामा राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा विस्तार गर्ने अर्थात् हाइवेलाई रनवे बनाउने नीति छ। 

नागरिक उड्डयन प्राधिकरण र सडक विभागका अधिकारीहरुसित पहिलोपोस्टले यसबारे जिज्ञासा राख्दा उनीहरु राष्ट्रपतिबाट घोषणा भएको यो कार्यक्रमबारे अनभिज्ञ देखिए। 

हाइवेमा रनवे बनाउने काम सम्भव नदेखिने प्राधिकरणका एक अधिकारीले बताए। ‘जहाजको लम्बाई अनुसार रनवे निर्धारण गर्नुपर्ने हुन्छ। राजमार्गमा गाडी गुडिरहेका हुन्छन्। दायाँ र बायाँ तार हुन्छन्’,  उनले थपे, ‘त्यसमाथि हाम्रो राजमार्गमा भएको सडकको चौडाइ यसै पनि तुलनात्मक हिसाबमा साँघुरो छ।’ 

युद्धको तयारीका क्रममा भने सैनिक विमान अवतरणका लागि यस्तो बनाउने प्रचलन विश्वका विभिन्न देशमा छ। यसलाई हाइवे स्ट्रिप, रोड रनवे वा रोडबेसको नाम दिइन्छ। सरकारको नीति तथा कार्यक्रममा सैन्य प्रयोजनका लागि हो कि गैरसैनिक प्रयोजनका लागि आपतकालीन विमान अवतरण गराउने हो, स्पष्ट छैन। 

दोस्रो विश्वयुद्धको क्रममा जर्मनीले पहिलो पटक सैन्य प्रयोजनका लागि हाइवेमा रनवे बनाएका थिए। 

नेपालमा १५ वटा राष्ट्रिय राजमार्ग रहेका छन्। तीमध्ये अधिकांश साँघुरा र घुमाउरो बाटो भएका हाइवे हुन्। तीमध्ये सबैभन्दा लामो पूर्व-पश्चिम महेन्द्र राजमार्ग, त्रिपुरेश्वरदेखि वीरगञ्ज बोर्डरसम्मको त्रिभुवन राजमार्ग र माइतीघरदेखि कोदारी सीमासम्मको काठमाडौँ-कोदारी राजमार्गले मात्रै एसियन हाइवेको कोड एएच पाएको छ। 

यी मध्ये कुन हाइवेमा रनवे बनाउने हो? सैन्य कि गैर सैनिक- कुन प्रयोजनका लागि? नीति तथा कार्यक्रममा प्रष्ट छैन। 

राजमार्गमा गैर सैनिक विमान अवतरणको पहिलो प्रयास अमेरिकामा सन् १९७७ मा भएको थियो। सदर्न एयरवेजको कमर्सियल उडान आपत्कालीन अवतरण गराइएको थियो। यस क्रममा विमानमा भएका ६३ जना र जमिनमा भएका ९ जनाको ज्यान गएको थियो। 

आपतकालीन अवतरण गर्ने क्रममा विमानको पखेटाले रुख र खम्बाहरु सुरुमा छोएको थियो र गुड्दै जाँदा पेट्रोल पम्प, ट्रकसित समेत ठोक्किएको थियो। 

चीन, साइप्रस, इस्टोनिया, फिनल्यान्ड, जर्मनी, जापान, उत्तर कोरिया, पाकिस्तान, पोल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, स्वीडेन, स्विट्जरल्यान्ड, ताइवान जस्ता देशमा पनि हाइवेमा रनवेमा बनाइएका छन् तर सैन्य प्रयोजनका लागि मात्रै। 

सरकारको नीति तथा कार्यक्रममा यो योजना भारतबाट प्रभावित भएर आएको हुनसक्छ। चार वर्षअघि उत्तर प्रदेशको यमुना एक्सप्रेसवेमा भारतले रनवे स्ट्रिपको पहिलो पटक परीक्षण गरेको थियो। त्यो पनि सैन्य प्रयोजनकै लागि थियो।

तर तीन वर्षअघि यातायात मन्त्री नीतिन गडकरीले घोषणा गरिदिए- सरकारले व्यवसायिक प्रयोजनका लागि पनि रोड रनवे बनाउने बारे सोचिरहेको छ। 

त्यतिबेला भारतीय मिडियाले मन्त्रीको यो योजना हावादारी हुने भन्दै आलोचना गरेका थिए। प्रश्नहरु उठाइएका थिए- के अमेरिकामा जस्तो दुर्घटना हुँदा सुरक्षित अवतरण गर्न सकिएला? के सडकले विमानको लोड धान्न सक्ला? आइकाओको गाइडलाइन अनुसार रनवे डिजाइन, बाधा विश्लेषण, सुरक्षित दूरीको व्यवस्थापन गर्न सकिएला?

भारतीय मन्त्रीले तीन वर्षअघि घोषणा गरेको यो योजना कार्यान्वयनमा आइसकेको छैन। तर नेपालमा सरकारले यो वर्ष यो रोचक बूँदा नीति तथा कार्यक्रममा घुसाइदिएको मात्र हो। यसको कार्यान्वयन तत्काल मात्र हैन, निकट भविष्यमा पनि हुने देखिन्न।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell