PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

टेनिस : आइभन र प्रेरणा च्याम्पियन



पहिलोपोस्ट

टेनिस : आइभन र प्रेरणा च्याम्पियन

काठमाडौं : आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्। सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

महिलाको उपाधि भिडन्तमा भने आइभनकी दिदी अश्लेषा चुकिन् । प्रेरणाले अश्लेषालाई ६–३ र ६–२ को सीधा सेटमा हराउदै उपाधि रक्षा गरिन् । एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो । गत बैशाखमा प्रेरणाले सिटिजन्स बैंक खुला टेनिस उपाधि जितेकी थिइन् । त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपीएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन् । पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए ।

मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए । पहिलो हुनेले ३५ हजार र दोश्रोले १७ हजार ५ सय नगद पुरस्कार हात पारे ।

पुरुष ५५ वर्षमाथि सिंगल्समा कृष्णराज घले पहिलो भए । उनले फाइनलमा कमल थापालाई ६–४ र ६–४ को सेटमा पाखा लगाए । कृष्णले १५ हजार तथा कमलले ७ हजार नगद पुरस्कार पाए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले बाजी मारे । गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडी विरुद्धको फाइनलमा सुदर्शन र राजुको जोडी २–६, ६–१ र १०–६ ले विजयी भए । विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार थापे ।

पुरुष ४५ वर्षमाथि सिंगल्स फाइनलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१ र ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे । चन्द्रले २५ हजार तथा राजुले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि पुरुष ६५ वर्षमाथि सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी पहिलो भएका थिए ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा ५ विदेशसहित १ सय ४८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दसै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell