
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग २०१९ को लिग चरणको आफ्नो अन्तिम खेल जितेको छ।
शनिबार भएको खेलमा दिल्लीले राजस्थान रोएल्सलाई ५ विकेटले पराजित गरेको हो। यस सिजन १४ मध्ये ८ लिग खेल जितेको दिल्ली १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ।
उता हारपछि १४ खेलबाट ११ अंक मात्र रहेको राजस्थान भने लिगबाट बाहिरिएको छ।
यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको दिल्लीले भने फाइनल पुग्न क्वालिफायर खेल्ने वा तेस्रो हुँदै एलिमिनेटर खेल्ने भन्ने विषयको टुङ्गो आइतबार लाग्नेछ।
मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीचको खेलको नतिजापछि शीर्ष चार स्थानमा रहने टोलीको छिनोफानो हुनेछ।
दिल्ली सहज जित हात पार्ने क्रमम राजस्थानले दिएको ११६ रनको लक्ष्य १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। दिल्लीका लागि रिसव पन्तले नटआउट ५३ रन बनाए। ३८ बल खेलेका पन्तले २ चौका र ५ छक्का प्रहार गरे।
राजस्थानका इश शोधीले ३ तथा श्रेयश गोपालले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनाएको थियो।
राजस्थानका लागि रियाग परागले ४९ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए। परागले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा राजस्थानले ठूलो स्कोर बनाउन सकेन।
दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्राले ३-३ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए।