
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ अन्तर्गत शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ३ विकेटले पराजित गरेको छ।
लिग चरणबाटै बाहिरिसकेको बैंगलोरसँग पराजित भएपछि हैदराबादले प्लेअफमा स्थान बनाउन लिगको अन्तिम खेल कुर्नुपर्ने भएको छ।
हैदराबाद हार्दा त्यसको फाइदा भने कोलकता नाइट राइडर्सलाई पुगेको छ।
लिगको सबे १४ खेलपछि हैदराबाद १२ अंकसहित चौथो स्थानमै यथावत छ। एक खेल कम खेलेको कोलकताको पनि समान १२ अंक छ।
कोलकताले आज अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्दैछ। उक्त खेल जितेमा कोलकता चौथो हुँदै प्लेअफमा छानिनेछ र हैदराबाद बाहिरिनेछ। यदि मुम्बईले कोलकतालाई पराजित गरेमा भने हैदराबादको सम्भावना बाँकी रहन्छ।
हेतमायर र गुरकिरतको अर्धशतकमा बैंगलोरको जित
हैदराबादले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले सुरुको ३ विकेट सस्तैमा गुमाएको थियो। टिमको स्कोर २० हुँदा ओपनर पार्थिव पटेल, कप्तान विराट कोहली र एबी डे भिलियर्स जस्ता खेलाडी आउट भइसकेका थिए।
तर शिमरो हेतमायर र गुरकिरत सिंहले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे। यी दुईले चौथो विकेटको लागि १४४ रनको साझेदारी गरे।
हेतमायरले ४७ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए। उनलाई गतिलो साथ दिएका गुरकिरतले ४८ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ६५ रन बनाए।
हैदराबादका लागि खलिल अहेमदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाए १७५ रन बनाएको थियो। विलियमसनले नटआउट ७० रन बनाए। उनले ४३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्टिन गप्टिलले ३० तथा विजय शंकरले २७ रन जोडे।
बैंगलोरका लागि वासिङ्गटन सुन्दरले ३ तथा एन सैनीले २ विकेट लिए।
आइपीएल २०१९ को अन्तिम दुई लिग खेल आज हुँदैछन्। पहिलो खेलमा शीर्ष स्थानको चेन्नाई र किंग्स एलेभेन पञ्जाव खेल्दैछन् भने दोस्रो खेल मुम्बई र कोलकताबीच हुनेछ।