PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

सुर्खेत-बर्दिया जोड्ने ‘फास्ट ट्र्याक’: सडकको ट्र्याक खुल्यो, पुल भने अझै अलपत्र



पी बी खड्का

सुर्खेत-बर्दिया जोड्ने ‘फास्ट ट्र्याक’: सडकको ट्र्याक खुल्यो, पुल भने अझै अलपत्र

सुर्खेत: कर्णाली प्रदेश र ५ नं. प्रदेश जोड्ने निर्माणाधीन भुरीगाउँ–तेलपानी सडकको भेरी नदीको पुल अलपत्र छ। २०६९ सालदेखि थालिएको पुलको काम अहिलेसम्म ७५ प्रतिशत अधुरै छ।

सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दूरीको (फास्टट्रयाक) ५२ किमी सडक खण्डको पक्की पुल सम्झौता मिति टरेको तीन वर्ष बित्दा पनि पुरा हुन सकेको छैन।

सुर्खेतदेखि झण्डै ३४ किलोमिटर बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ। तेलपानी जोड्न झण्डै ६ किलोमिटर मात्रै बाँकी छ। ट्रयाक खुलेपनि पुल अलपत्र हुँदा सडकको स्तरोन्नति हुन भने सकेको छैन।

दुई छिमेकी जिल्ला सुर्खेत–बर्दिया जोड्ने फास्टट्रयाक नहुँदा यहाँका नागरिक रत्न राजमार्ग कोहलपुर हुदैँ झण्डै १३० किलोमिटर दूरी पार गरी जान बाध्य छन्। पुल नबनेकै कारण सडकको ट्रयाक खोल्ने काम सकिए पनि सीधा यातायात सेवा जोडिन सकेको छैन।

उत्तर–दक्षिण फास्टट्रयाकमार्फत जोड्ने उद्देश्यले आर्थिक वर्ष २०६४÷०६५ देखि तेलपानी–भुरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे भई काम सुरु गरिएको थियो। 

अलपत्र रहेको पक्की पुल २०६९ असार २९ मा निर्माण सम्झौता भएको थियो। पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी पाए लगत्तै काम थालेको थियो। निर्माण कार्य जिम्मा पाएको तीन वर्षमा सो पुल बनाइसक्नुपर्ने थियो। तर, अहिलेसम्म भौतिक रुपमा केवल २५ प्रतिशत मात्र काम सकिएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका अनुसार सो पुलका लागि निर्माण कम्पनीसँग १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता थियो।

निर्माण कम्पनीले सो पुलको काम २०७२ असार मसान्तमा सक्नु पर्ने थियो तर, अझै काम ७५ प्रतिशत गर्नै बाँकी रहेको छ। पुलको ओपन फाउन्डेसन सकिसकेको छ भने बीचको र रानीघाटतर्फको ओयल पिलर करिव आधा–आधा भएको छ। अहिलेसम्म निर्माण कम्पनीले तीन करोड ८७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। निर्माण व्यवसायीले पिलरको आसनमा चट्टान हुँदा ढिलाई भएको र यसको डिजाईननै बदल्नु पर्ने बताउँदै आएको थियो।

यता, डिभिजन सडक सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले निर्माण कम्पनीले सुरुमा पिल्लरको फेदमा कडा चट्टान भएको भनेपनि माटो परीक्षण गर्दा त्यस्तो नदेखिएकाले  तत्काल काम सुरु गर्न निर्देशन दिइसकिएको बताए। उनले निर्माण कम्पनीले तत्काल काम सुरु नगरे ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गरिने जानकारी दिए।

भुरीगाउँ–तेलपानी सडकका लागि सो पुल निर्माणको काम रोकिँदा सडकको कामले पनि गति लिन सकेको छैन। रारा तालदेखि तारा ताल सडक योजना अन्तर्गत अब सो पुलको कामले गति लिने डिभिजन सडक प्रमुख अधिकारीको विश्वास छ।

पुल निर्माण सम्पन्न भए प्रदेश ५ को बर्दिया र कर्णाली प्रदेशसहित सुदूरपश्चिम प्रदेशपनि जोडिनेछ। उक्त सडक सञ्चालनमा आए व्यवसायीक प्रयोजनका लागि छिटो, छरितो र भरपर्दो हुने विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell