PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपेन्द्रले तत्कालै सरकार नछाड्ने भएपछि सत्तापक्ष बन्ने भए बाबुराम, एकता घोषणासभाबाट सरकारलाई चेतावनी दिने



बीपी साह

उपेन्द्रले तत्कालै सरकार नछाड्ने भएपछि सत्तापक्ष बन्ने भए बाबुराम, एकता घोषणासभाबाट सरकारलाई चेतावनी दिने

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ।

फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमतिअनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव उपप्रधानमन्त्रीका रुपमा सरकारमै रहनेछन्।

‘हाम्रो एकीकृत पार्टी समाजवादी पार्टी अहिले सरकारमै रहने सहमति भएको छ। संसदको चालु अधिवेशनसम्म सरकारभित्रै रहेर संघर्ष गर्नेछ,’ फोरमका एक नेताले भने, ‘सरकारमा सहभागी हुँदा हामीसँग भएको दुई बुँदे सहमति पालना गर्न सरकारलाई दबाव दिनेछौं। त्यसपछि अन्य विकल्पबारे छलफल हुनेछ।’

भोलि घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा कार्यक्रमबाट नेताहरुले सरकारलाई चेतावनी दिनेछन्। उक्त मञ्चबाटै प्रधानमन्त्रीलाई दबाव दिने तयारी रहेको छ।

फोरम र नयाँ शक्तिबीच एकीकरणका विषयमा भएको छलफलमा सरकारको विषय पनि उठेको थियो। नयाँ शक्तिका नेताहरुले सरकार छोड्नु पर्ने बताएका थिए।

यसैगरी, भोलि समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारीको घोषणा हुनेछ। फोरमबाट १६ जना पदाधिकारी रहनेछ जसमा हाल एउटा पद खाली रहेको छ। यसैगरी नयाँ शक्तिबाट ९ जना पदाधिकारी रहनेछन्।

यसैगरी महाधिवेशन आयोजक समितिको सदस्य संख्या घटाइएको छ। यसअघि फोरमले एक हजार सदस्य भएको महाधिवेशन समिति घोषणा गरेको थियो भने नयाँ शक्तिले ६ सय सदस्य संख्याको समिति घोषणा गरेको थियो।

दुबै दलबीच भएको सहमतिअनुसार फोरमले एक हजारबाट घटाएर ६ सय र नयाँ शक्तिले ६ सयबाट घटाएर ४ सय सदस्य राख्ने छन्। समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति एक हजार सदस्यीय हुनेछ।

यसैगरी, हाल कायम रहेको दुबै पार्टीका केन्द्रीय सदस्यहरुको संख्या यथावत रहनेछ।

वरीयता क्रममा डा.भट्टराई पहिलो रहने छन् भने यादव दोस्रो। पार्टीको अध्यक्षको रुपमा यादव रहने छन् भने संघीय परिषद्को अध्यक्ष भट्टराई रहनेछन्। संघीय परिषद् केन्द्रीय समितिभन्दा पनि शक्तिशाली हुनेछ।

यसैगरी, पार्टीको अन्य एकीकरणका विषयमा समिति बनाउने तयारी भएको छ। भोलिको घोषणा पछि समिति बनाएर प्रादेशिक र पालिकाहरुको एकीकरण प्रक्रिया अगाडि बढ्नेछ।

पदाधिकारी र केन्द्रीय समितिमा दुबै पार्टीको संख्या निश्चित भएपनि तल्लो तहको एकीकरणमा कुनै भागबण्डा नहुने सहमति भएको छ।

एकीकृत नयाँ पार्टीको प्रतिनिधि सभामा राजपाको समान १७ सदस्य हुनेछन्। फोरमको १६ र नयाँ शक्तिको १ सदस्य प्रतिनिधि सभामा छ। राष्ट्रिय सभामा समाजवादी पार्टीका दुई सदस्य हुनेछन्।

प्रदेश सभाहरुमा फोरमको उपस्थिति नभएको प्रदेश ३, प्रदेश ४ (गण्डकी) मा नयाँ शक्तिको उपस्थिति थियो। त्यस्तै प्रदेश १ र २ मा नयाँ शक्तिको उपस्थिति थिएन।  एकीकृत भइसकेपछि पनि समाजवादी पार्टीको कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा उपस्थिति हुने छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell