PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

दैनिक ६ सय यात्रु ओहोरदोहोर गर्ने धनगढी विमानस्थल आजदेखि एक महिना पूर्ण रुपमा बन्द, कसलाई कस्तो असर?



एम बम

 दैनिक ६ सय यात्रु ओहोरदोहोर गर्ने धनगढी विमानस्थल आजदेखि एक महिना पूर्ण रुपमा बन्द, कसलाई कस्तो असर?

कैलाली :   दैनिक ६ सय देखि साढे ६ सयसम्म ५० यात्रुको ओहोरदोहोर हुने धनगढी विमानस्थल आज (वैशाख २२ गते) देखि एक महिना (जेठ २१ गते) बन्द भएको छ। 

विमानस्थल बन्द हुँदा आपतकालीन अवस्थामा काठमाडौँ जानुपर्ने र आउने यात्रुहरू सबै भन्दा बढी प्रभावित हुनेछन्। 

धनगढीपछि काठमाडौँका लागि पश्चिम क्षेत्रको हवाई मार्ग नेपालगन्ज विमानस्थल हो, जहाँ पुग्न स्थलमार्ग भएर धनगढीबाट कम्तिमा साढे ४ घण्टा लाग्ने गर्छ। 

विमानस्थल बन्द हुँदा आतपकालीन अवस्थामा काठमाडौँ जानुपर्ने यात्रुलाई सास्ती हुने भन्दै यात्रुहरूले यसको विकल्प खोज्न माग गरेका छन्। 

महेन्द्रनगरबाट काठमाडौँ जानका लागि आएका कञ्चनपुरका भुवन बोहराले विमानस्थल पूर्ण बन्दा हुँदा सुदूरपश्चिम क्षेत्रका यात्रुलाई निकै सास्ती हुने भन्दै यसको विकल्प खोज्नुपर्ने बताए।

‘बिरामी भएर वा अन्य कुनै आपतकालीन कामले काठमाडौँ जानुपरे धेरै समस्या हुने देखिएको छ। उनले भने, ‘सकेसम्म यसको केही विकल्प खोजिनुपर्थ्यो।’ 

विमानस्थलमै भेटिएका कैलालीको कैलारी गाउँका राजेश रानाले पनि विमानस्थल पूर्ण बन्द गर्नु भन्दा यसको विकल्प खोज्न सके उपयुक्त हुने बताए। 

सुदूरपश्चिमको रेफरल सेती अञ्चल अस्पतालका अनुसार अहिले दैनिक २ देखि तीन जना गम्भीर प्रकृतिका बिरामीहरू उपचारका लागि काठमाडौँ जाने गरेका छन्। हवाई सेवा बन्द भएपछि सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित हुने अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए।

पर्यटन व्यवसायीहरूले पनि हवाई सेवा बन्द हुँदा पर्यटक र व्यापार व्यवसायमा समेत प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। नाटा सुदूरपश्चिम प्रदेशमा महासचिव तथा ट्राभल व्यवसायी पदम विक्रम सिंहले आर्थिक वर्षको अन्त्यमा हुन लागेको विमान सेवा बन्दले निकै समस्या हुने बताए।

‘त्रिभुवन विमानस्थलमा जसरी केही समय बन्द राखेर केही घण्टा चलाउन पनि त सकिन्थ्यो कि,’ उनले भने। 

तर विमानस्थल प्रमुख तेज बहादुर बुढ्थापाले भने विमानस्थलको धावन मार्ग लामो समयदेखि स्तरोन्नति हुन नसकेकाले सब बेससहित बनाउन पूर्ण रूपमै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

‘१४ वर्ष भयो धावन मार्ग ओभर लेयरको काम नभएको,’ उनले भने ‘कतिपय ठाउँमा कालोपत्रे भासिने, बिग्रने क्रम विगतबाटै सुरु भइसकेको छ। ७ सय मिटरमा जति धावनमार्ग नराम्ररी बिग्रिएको छ। त्यसकारण विमानस्थललाई चाँडै स्तरवृद्धि गर्नु पर्ने भएकाले अहिले बन्द हुन लागेको हो।’ 

एयरलाइन्सहरू पनि विमानस्थलको स्तरोन्नति हुन लागेकोमा खुशी छन्। श्री एयरलाइन्स धनगढी शाखा प्रमुख गजेन्द्र शाहीले भने, ‘विमानस्थलको धावन मार्ग लामो समयदेखि स्तरोन्नति नहुँदा जीर्ण अवस्थामा छ। यसले दुर्घटनाको जोखिम पनि निम्त्याएको छ। अब  स्तरोन्नति हुन लागेको छ। खुसीको कुरा हो।’

एयरलाइन्सका धनगढी उडान अब नेपालगंजबाट 

धनगढी विमानस्थल बन्द हुने भएपछि अहिले धनगढी–काठमाडौँ उडान भर्दै आएका विमानहरू अब नेपालगन्जबाट उडान भर्ने तयारीमा छन्। हाल श्री र बुद्धले दैनिक २ उडान धनगढी काठमाडौँ गर्छन् भने एउटा नेपाल एयरलाइन्सको विमान छ। 

अब धनगढी विमानस्थल बन्द भएपछि बुद्ध एयरलाइन्सले २ वडै उडान नेपालगन्ज विमानस्थलबाट भर्ने भएको छ। ‘हामीले अहिले नेपालगन्ज २ वटा उडान भर्ने गरेका छौँ,’ बुद्ध एयरलाइन्स धनगढीका इन्चार्ज बुधराम चौधरीले भने ‘अब धनगढी विमानस्थल बन्द भए पछि दुइटै नेपालगन्ज थप्ने तयारी भएको छ।’ 

श्री एयरलाइन्सका इन्चार्ज गजेन्द्र शाहीले पनि नेपालगंजमा दुई वटा उडान भइरहेको बताए। ‘एउटा उडान फेरि थप्ने तयारी भइसकेको छ ।’ उनले भने ‘अर्को के गर्ने भन्ने विषयमा पनि छलफल जारी छ।’

सामान्यतया विमानस्थलको धावन मार्ग ओभर लेयरको काम १० वर्षमा गर्नु पर्ने हुन्छ। तर अहिले भने १४ वर्षपछि हुन लागेको हो। 

झन्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य सुरु हुने भएको हो । त्यसको ठेक्का लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौँले पाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अब धावनमार्गमा ओभरलेयर गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने र पार्किङ क्षेत्र विस्तारको योजना समेत रहेको छ।

विकल्प बन्न सक्ने विमानस्थल अतिक्रमणको चपेटामा

धनगढीपछि राजधानी केन्द्रित हवाई उडानको विकल्प बन्न सक्ने कञ्चनपुरको मझगाउँ विमानस्थल भने अतिक्रमणको चपेटामा परेको छ।

असुरक्षाको कारण देखाउँदै झन्डै २ दशक अघि सशस्त्र द्वन्द्वकालमा बन्द भएको यो विमानस्थल अहिले गौचरणमा परिणत भएको र अतिक्रमणको चपेटामा परेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बताए।

‘तत्कालीन समयमा महेन्द्रनगर–बैतडी नियमित उडान हुने गरेकै अवस्थामा विमानस्थल बन्द भएको हो,’ मल्लले भने ‘पछि हामीले धनगढीलाई स्तरोन्नति गरौँ भनेर सहमति गर्‍यौँ। त्यहाँ अहिलेसम्म सुधार स्तरोन्नतीको केही पनि काम हुन सकेको छैन। उल्टै अतिक्रमणको चपेटामा परेको छ।’

दिनभर विमानस्थल पशु चौपायाको चरण स्थल बन्ने गरेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell