
काठमाडौँः एनसेल लाभकर विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानुनसम्मत नभएको भन्दै एनसेलले दायर रिटमा आज सुनुवाइ हुन लागेको हो। रिटमा यसअघि वैशाख १२ गते अल्पकालीन अन्तरिम आदेश भएको थियो। अल्पकालीन अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा दुबै पक्षबीच आज छलफल हुन लागेको हो।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गानाको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
वैशाख १२ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। इजलासले आज दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो।
सुनुवाइबाट अल्पकालीन आदेशले निरन्तरता पाएमा कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय कार्यान्वयन हुने छैन। अल्पकालीन आदेश खारेज भएमा ठूला करदाता कार्यालयको निर्णय कार्यान्वयनमा जानेछ।
अदालतको आदेशसँगै कर असुलीको प्रक्रिया रोकिएको छ। ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ थप कर सात दिनभित्र तिर्न पत्राचार गरेको थियो।
तर, वैशाख ९ गते एनसेलले कर निर्धारण प्रक्रिया ठीक नभएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेको थियो।
६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कूल कर निर्धारण भएकोमा एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ बुझाइसकेको छ। बाँकी कर सात दिनमा तिर्न करदाता कार्यालयले पत्राचार गरेको थियो।