PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फोरम र नयाँ शक्तिको एकता सभामा कांग्रेसका दमननाथ ढुंगाना पनि



विधुर ढकाल

फोरम र नयाँ शक्तिको एकता सभामा कांग्रेसका दमननाथ ढुंगाना पनि

काठमाडौं: उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको एकता कार्यक्रममा पूर्व सभामुखसमेत रहेका काँग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एकता सभा शुरु भइसकेको छ। 

एकता सभामा फोरम र नयाँ शक्तिका नेतासहित ढुंगाना मञ्चमा छन्। संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उम्मेद्वार रहेका उनी महेश बस्नेतसँग पराजित भएका थिए।

 

कांग्रेस र ने क पा थारो गाई, दुध नदिने गाईलाई पूज्ने दिन गए : राजेन्द्र श्रेष्ठ

 

संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जुवाको काँध फेरिए झैं आफ्नो पार्टीले नयाँ शक्तिसँग एकता गरी काँध फेर्न लागेको बताएका छन्। दुई पार्टीको एकता गर्न कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकतापछिको पार्टीले सिंहदरवारमा जनताको झण्डा गाड्ने बताए।

श्रेष्ठले भने, 'जुवाको काँध फेर्नुपर्छ। गाँउघरमा गोरुले जोतेन भने जुवाको काँध फेर्नु पर्छ। अब समाजवादी पार्टी ले काँध फेर्छ।'

पुरातनवादी पार्टी भन्दा फरक शैलीमा अघि बढ्ने उल्लेख गर्दै उनले विचार संगठन र कार्यशैलीमा पनि नयाँ हुने दाबी गरे।

भने, 'नेपालमा दुई वटा समाजवादी धार देखियो। काँग्रेसले समृद्धि र सुशासन दिन सकेन। ने क पामा केन्द्रीकृत मानसिकता छ। यस्तो अवस्थामा काँग्रेस र कम्युनिस्ट भनेको थारो गाई हुन्। थारो गाईलाई दूध दिन्छ कि दूध दिन्छ भनेर अब गौमाता भनेर पुजेर बस्ने दिन गए। अब नयाँ पार्टी जन्मियो। समावेशी र सहभागितामुलक पार्टी जन्मिएको छ।'

सात च्याप्टर घोषणापत्र समेत तयार भइसकेको उल्लेख गर्दै उनले नयाँ पार्टी पहिचान र अधिकार सहितको शासन प्रणालीमा जाने बताए।

सिंहदरबार सिंह बस्ने ठाउँ हो, अचेल स्यालमात्र कराएको सुन्छु, अब हामी पस्छौं : अशोक राई

काठमाडौं: संघीय समाजवादी पार्टी नेपालका नेता अशोक राईले आफू ३० वर्ष यता सिंहदरबारको आसपासमा रहेको र अब सिंहदरबार पस्ने योजनामा रहेको बताएका छन्। आज दुई पार्टी एकीकरण सभालाई सम्बोधन गर्दै राईले सिंहदरबारमा स्यालमात्र कराएको सुनेको दाबी गरे।

राईले भने, '४५ वर्ष राजनीतिमा छु। ३० वर्ष देखि सिंहदरबार आसपास छु। सिहंदरबार सिंहहरु बस्ने दरवार हो। आजभोलि सिहंदरवार आसपास जान्छु स्याल कराएको मात्र सुन्छ। 
सिहंहरु आज कमलादीस्थित प्रज्ञा भवनमा भेला भएका छन्। अब सिंह बस्ने सिंहदरबारबाट स्याल फालेर सिंहको प्रवेश गराउनु छ।'
 
सुशासन र समाजवादका लागि नयाँ पार्टी चाहिएको उल्लेख गर्दै राईले अब देशमा दुईवटा पार्टी भएको दाबी गरे। भने, 'एउटा संघीयता सुशासन, समृद्धि र समाजवाद पक्षधर समाजवादी पार्टी र यसको विरोधी पार्टी। नाममा फरक फरक कम्युनिस्ट काँग्रेस जे भए पनि उनीहरु पहिचान विरोधी शक्ति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell