
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन्।
गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्रीले भने, 'यस दिवसलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ। यो जनताको दिवस हो। जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ।'
प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघिदेखि नै गणतन्त्रका लागि संघर्ष भएको बताउँदै भने, 'कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन। विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो।'
गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई विस्थापित गरेको बताए। कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए।
'कुनै बेला लिगलिगकोटको राजा हुन पनि दौडमा जित्नु पर्थ्यो। यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ,' ओलीले भने, 'पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे। गणतन्त्रले त्यस मान्यतालाई विस्थापित गर्यो।'