PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फोरम - नयाँ शक्ति एकतामा करिश्मा क्रेज : यस्ता थिए ५ रोचक दृश्य



बीपी साह

फोरम - नयाँ शक्ति एकतामा करिश्मा क्रेज : यस्ता थिए ५ रोचक दृश्य

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता घोषणा भएको छ। एकतासँगै मधेशमा आधारित दलको समीकरणमा नयाँ अध्याय सुरु भएको छ। दुई दिनअघि पार्टी एकताको मिति तय गर्दै सहमति सार्वजनिक भएको थियो। त्यसलगत्तै संघीय समाजवादी फोरम र त्यसका नेता उपेन्द्र यादवमाथि मधेशबाट फरकखाले प्रतिक्रिया आएको थियो। त्यस्तै डाक्टर बाबुराम भट्टराई र नयाँ शक्तिको विषयलाई लिएर पनि टिप्पणीहरु हुने क्रम जारी रहे। सहमति बमोजिम आज राजधानीमा यी दुई दलको एकीकरणको घोषणा भयो। घोषणा सभामा सबैको नजर थियो। यहाँका केही दृश्य रोचक देखिन्थे।

१. बस्ने सिट नपाउँदा सांसद र प्रदेश मन्त्री रुष्ट

हलभित्र सांसदहरु बस्ने व्यवस्था नभएकोले संघीय सांसद तथा प्रदेश सांसदहरु निकै रुष्ट थिए। हलभित्र पदाधिकारी र केन्द्रीय सदस्यहरुको बस्ने सिट मिलाइए पनि सांसदहरुका लागि बेग्लै व्यवस्था गरिएको थिएन। बस्ने कुर्सीको चाँजोपाँजो नमिलेको देखेपछि सांसद विमल श्रीवास्तव कार्यक्रम सुरु हुनुअघि नै बाहिरिए। सांसद त छाडौं प्रदेशका मन्त्रीहरुले समेत बस्ने सिट पाएनन्। एकताका लागि उत्साहित भएर काठमाडौं आएका प्रदेश मन्त्रीहरु कुर्सी नपाउँदा असन्तुष्ट नहुन् पनि कसरी?

२. सिंहदबार कब्जाको दावी

प्रतिनिधिसभामा यी दुई दल मिल्दा १७ सांसद पुग्दैछन्। त्यति नै सिट संख्या छ, अर्को मधेशमा आधारित दल राष्ट्रिय जनता पार्टीको। दोस्रो ठूलो दल नेपाली कांग्रेस ६३ सिटसहित प्रमुख प्रतिपक्षी दलका हैसियतमा छ। सिंहदरबारमा १ सय ७४ सिटसहित नेकपाको राज छ। तर, यही तथ्याङ्क भन्दा धेरै महत्वाकांक्षी अभिव्यक्ति घोषणा सभामा दिइरहे नेताहरुले।

एकीकरण घोषणा कार्यक्रममा नेताहरुले सिंहदरबार प्रवेशप्रति निक्कै जोड दिए। नेता राजेन्द्र श्रेष्ठले अब समाजवादी पार्टीले सिंहदरबार कब्जा गर्ने बताए। अहिलेसम्म अरुले सिंहदरबार कब्जा गरेको दाबी गरेका थिए उनले।

नेतृ रेणु यादवले पनि सिंहदरबारप्रतिकै चासो देखाइन्।

वरिष्ठ नेता अशोक राईले अहिले सिंहदरबार वरिपरी स्याल कराएको भन्न समेत भ्याए। उनी त्यतिमै रोकिएनन्, दावी गरे, 'अब शेरहरुले प्रवेश गर्ने हो।' उनले समाजवादी पार्टीका नेता कार्यकर्ताहरुलाई शेरको संज्ञा दिदै सिंहदरबार प्रवेश गर्ने बताए।

३. सांसद रेशम चौधरी समाजवादी पार्टीमा?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरी कैलाली जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएर डिल्लीबजार जेलमा छन्।

टीकापुर घटनाका मुख्य दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले उनलाई जन्मकैद सुनाएपछि उनी पुनरावेदनका लागि उच्च अदालत पुगेका छन्।

उनी राजपाका सांसद भए पनि चौधरीकी श्रीमती रंजिता चौधरी पछिल्लो समय डाक्टर बाबुराम भट्टराई निकट देखिएकी छिन्। केही महिनाअघि कैलालीमा नयाँ शक्ति पार्टीका कार्यक्रममा पनि उनी देखिएकी थिइन्।

आज काठमाडौंको प्रज्ञा भवनमा भएको संघीय समाजवादी फोरम र नयाँ शक्तिबीचको एकीकरण घोषणा कार्यक्रममा पनि उनी देखिइन्। यसले रेशम चौधरीको राजनीतिक सिफ्ट हुने सम्भावना त देखाउँदैन? घोषणा सभामा रंजिताको उपस्थितिले 'केही हुँदैछ' भन्ने संकेत गर्छ किनकि रेशमको पार्टी अदलबदल भइहाल्यो त्यो पहिलो पटक हुनेवाला होइन।

४. रेणुलाई मधेशकै पिर

मधेशी जनअधिकार फोरममा जनजाति मुद्दा लिएर राजनीतिक मैदानमा होमिएका पूर्व एमाले अशोक राईसमेत समेटिएपछि यो पार्टीले अहिलेको संघीय समाजवादी पार्टीको स्वरुप हासिल गरेको थियो। मधेश मुद्दाबाट जन्मेको दलले जनजाति मुद्दा पनि बोकेर हिँड्न थाल्यो। त्यसैको असर हुनुपर्छ संघीय समाजवादी फोरमभित्र अध्यक्ष उपेन्द्र यादवको समानान्तर लाइन खडा गरेकी उपाध्यक्ष रेणु यादवले मञ्चमा आन्दोलनकै चर्चा गरेकी थिइन्। उनले मधेशबाट पार्टी जन्मकेको भन्दै पार्टीले मधेशलाई बिर्सिन नहुने बताइन्। उनले सम्बोधनमा जय मधेश उच्चारण गरेकी थिइन्। अरुले त्यसरी बोलेनन्।

उनको लाइन अनुसार भने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि बोलेका थिए।

५. क्रेज चाहिँ करिश्माकै

नयाँ शक्ति पार्टीमा डाक्टर बाबुराम भट्टराई केन्द्रमा रहनु सामान्य नै हो। पूर्व प्रधानमन्त्री रहिसकेका भट्टराई एक हिसाबले आफैँमा सेलिब्रिटी हुन्। नयाँ शक्तिमा उनीपछिकी सेलिब्रिटी भने करिश्मा मानन्धर नै हुन् भन्ने तथ्य एकता घोषणा सभामा देखिन्थ्यो। फिल्मी करिअरबाट राजनीतिमा मोडिएकी करिश्माको क्रेज अझै छ भन्ने चाहिँ सेल्फी खिच्न खोज्नेहरुको भिडले नै देखाइरहेको थियो।

नयाँ शक्ति पार्टीका नेतृ करिश्मा मानन्धरसँग कार्यक्रम हलभित्र सेल्फी लिनेको भिड नै लाग्यो। एकता एकातिर, अर्कोतिर सेल्फीको मारामार। खचाखच भरिएको हलभित्र करिश्मालाई नै असहज हुने गरी युवाले सेल्फी लिइरहेका थिए। उनलाई यसले आजित बनाएछ। सेल्फी लिनेहरुको भिडकै कारण उनले एकजना साथीलाई आफ्नै कुर्सीमा बसाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell