PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

समाजवादी पार्टीको मञ्चबाट सिंहदरबारमाथि धावा, ने क पा र कांग्रेसले विकास गर्न नसक्ने भन्दै दमननाथले दिए शुभकामना



विधुर ढकाल

समाजवादी पार्टीको मञ्चबाट सिंहदरबारमाथि धावा, ने क पा र कांग्रेसले विकास गर्न नसक्ने भन्दै दमननाथले दिए शुभकामना

काठमाडौं: सोमबार संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि समाजवादी पार्टीको घोषणा भयो। नयाँ पार्टीको घोषणासँगै समाजवादी पार्टीको मञ्चबाट सिंहदरबार तथा सरकार र अन्य राजनीतिक दलहरु माथि धावा बोलियो।

कार्यक्रमको सुरुदेखि अन्त्यसम्म बोल्नेहरुको लामो फेहरिस्त थियो। बोल्ने वक्ताहरु धेरै भएकाले होला, सञ्चालन पनि दुई जना राखिएका थिए। संघीय समाजवादी फोरमको तर्फबाट वालकिशोर यादव र नयाँ शक्ति पार्टी नेपालका तर्फबाट गंगानारायण श्रेष्ठले पालैपालो कार्यक्रम चलाए। उनीहरुले पनि बीचबीचमा सिंहदरबार र अन्य दलहरुमाथि धावा बोले।

कार्यक्रममा नवगठित समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सरकार, कम्युनिस्ट र कांग्रेसहरुको आलोचना गरे। उनले कम्युनिस्ट पार्टी र कांग्रेस निभ्न लागेको बत्ती भन्दै क्रान्तिकारी पार्टी समाजवादी पार्टी भएको घोषणा गरे।

'हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ। अर्को कित्ता पश्चगामी रुपमा नेकपा र कांग्रेसहरु छन्। कम्युनिस्टहरु केही चमक भएपनि निभ्ने बेलाको बत्ती हो। हिजो स्टालिनो पालादेखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन्।'

उनले पार्टी एकतालाई राष्ट्रिय एकताको रुपमा चर्चा गरे। 'फेरि अर्को ठूलो छलाङ हान्दै छौँ। यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो। हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो।'

उनले संघीयता बचाउनका लागि पार्टी एकीकरण गरिएको र पूराना पार्टीहरु भ्रष्टाचार काण्डहरुमा मुछिएको भन्दै वाइडबडी प्रकरण देखि बालुवाटार जग्गा प्रकरणमा जोडे।

उनले हिजोका क्रान्तिकारी तथा कम्युनिस्टहरुले अहिले नयाँ सिराबाट क्रान्तिको सुरुवात गर्न लागेका थिए। 'हिजोका क्रान्तिकारीहरु पश्चगामी बनेका छन्। हिजो जनयुद्ध गरेको एउटा कित्ता हिजो आतंककारी भन्ने हरुसँग जोडिएर पश्चगामी कित्तामा जोडिएको छ। अर्को कित्ता फरक रुपमा त्यही क्रान्तिकारी झण्डा उठान गर्दै छ। मधेश आन्दोलनको क्रान्तिकारी कित्ता, हिजो झापा संघर्षमा क्रान्तिकारी विरासत बोकेको एमाले भित्रको क्रान्तिकारी कित्ता अशोक राईहरु यो क्रान्तिकारी कित्तामा आउनु भएको छ।'

भट्टराईले पार्टी सडक सदन र आवश्यक परे सरकारको मोर्चामा रहेर संघर्ष गर्ने बताए। सरकारमा रहेको र सरकार बाहिर रहेको पार्टीबीचको एकतालाई प्रष्ट्याउँदै उनले भने, 'सरकारमा सहभागिताको विषयमा कूरा उठिरहेको छ। यो पनि एउटा संघर्षको मोर्चा हो। सरकारले संविधान संशोधनको वाचा गरेको छ। संविधान संशोधन भएन भने कुनै पनि बेला पार्टीको बैठक बसेर सरकारबाट बाहिरन सक्छौँ।'

प्रदेश २ र केन्द्र सरकारबीचको टकरावलाई पनि आफ्नो मन्तव्यका क्रममा जोडे। 'संघीयता कार्यान्यवनको कुरा छ। संविधानमा संघीयता लेखिए पनि प्रदेशका अधिकारहरु कटौती गरेर केन्द्रमा केन्द्रीत गर्ने काम भएको छ,' उनले भने, 'प्रदेश २ संघीयता कार्यान्वयनका लागि नमुना बन्छ। यहाँ समृद्धिको नयाँ अध्याय सुरु हुन्छ।'

कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले नयाँ राजनीतिक आन्दोलनको सुरुवात भएको घोषणा गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको युग समाप्त भएको बताउँदै आएका बेला उनले भने, 'हो उनीहरुका लागि राजनीतिक आन्दोलनको युग सकिएको छ। अबको राजनीतिक आन्दोलनको नेतृत्व आदिवासी जनजाति, मधेसी, दलित, सीमान्तकृत समुदायले गर्छन्,' उनले भने, 'अब तराई लहानमा आन्दोलन भयो भने गोरखा चुप लागेर बस्दैन। धनकुटामा आन्दोलन हुँदा लहान सुतेर बस्दैन। अब काठमाडौंमा आन्दोलन भए पूरै देश आन्दोलित हुनेछ। अब हिजो खुसी हुनेहरु रुने दिन आयो।'

कांग्रेस अबका दिनमा अघि बढ्न नसक्ने उल्लेख गर्दै यादवले कम्युनिस्ट कमाउनिस्ट भएको आरोप लगाए। भने, 'काँग्रेसको सुरुदेखि नै राजतन्त्र र बहुदल हो। अहिले देश गणतन्त्र भयो कांग्रेस स्टेशनबाट अगाडि बढ्न सक्दैन। हिजो हामी पनि कम्युनिस्ट थियौँ। हिजो उनिहरु पनि कम्युनिस्ट नै थिए अहिले कमाउनिस्ट भए। संसारमा कहिँ नभएको राजतन्त्र बोक्ने कम्युनिस्ट देखियो।'

सरकारका उपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकारको नाम नलिए पनि अहिलेका राजनीतिक दलले समृद्धि दिन नसक्ने बताए। 'हिजो कांग्रेस एमाले सरकारमा नजाँदा सम्म काठमाडौँमा बासबारी छाला जुत्ता कारखाना थियो, जनकपुर चुरोट कारखाना थियो, विराटनगरमा कृषि सामाग्री उपकरण उद्योग थियो, हेटौँडामा औद्योगिक क्षेत्र र कमडा उद्योग थियो, नारायणी पारी भृकुटी कागज कारखाना थियो, बुटवलमा धागो कारखाना थियो। कांग्रेस एमाले सरकारमा आएपछि उद्योगहरु बन्द भए,' उनले अगाडि भने, 'त्यतिवेला रोजगारका लागि विदेश जाने कुरा सुनिँदैनथ्यो। अहिले दैनिक विदेश जाने युवाहरुको संख्या बढी छ। अझ पनि रोजगार र समृद्धिको कुरा गर्छन्। समाजवादी पार्टीले समृद्धि र विकासको खाका लिएर आएको छ। '

कार्यक्रममा बोल्दै नवगठित पार्टीका वरिष्ठ नेता अशोक राईले सिंहदरवार कब्जा गर्ने उद्घोष गरे।  आफू ३० वर्ष यता सिंहदरबारको आसपासमा रहेको र अब सिंहदरबार पस्ने योजनामा रहेको बताएका छन्। आज दुई पार्टी एकीकरण सभालाई सम्बोधन गर्दै राईले सिंहदरबारमा स्यालमात्र कराएको सुनेको दाबी गरे।

राईले भने, '४५ वर्ष राजनीतिमा छु। ३० वर्ष देखि सिंहदरबार आसपास छु। सिहंदरबार सिंहहरु बस्ने दरवार हो। आजभोलि सिहंदरवार आसपास जान्छु स्याल कराएको मात्र सुन्छ। सिहंहरु आज कमलादीस्थित प्रज्ञा भवनमा भेला भएका छन्। अब सिंह बस्ने सिंहदरबारबाट स्याल फालेर सिंहको प्रवेश गराउनु छ।'

सुशासन र समाजवादका लागि नयाँ पार्टी चाहिएको उल्लेख गर्दै राईले अब देशमा दुईवटा पार्टी भएको दाबी गरे। भने, 'एउटा संघीयता सुशासन, समृद्धि र समाजवाद पक्षधर समाजवादी पार्टी र यसको विरोधी पार्टी। नाममा फरक फरक कम्युनिस्ट काँग्रेस जे भए पनि उनीहरु पहिचान विरोधी शक्ति हो।'

कार्यक्रममा बोल्नेहरु लिष्ट लामै थियो। दुई पार्टीबाट भागबण्डा गरिएर वक्ताहरु तयार पारिएका थिए। उद्घोषकले वक्ताहरुलाई बोलाउँदै गए। वक्ता मञ्चमा उभिए, बाबुराम र उपेन्द्र यादवलाई 'नायक'को रुपमा प्रशंसा गरे अनि सिंहदरबारमाथि धावा बोले।

स्वागतका लागि आएका पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जुवाको काँध फेरिए झैं अब सत्ताको बागडोर फेरिने बताए। उनले एकतापछिको पार्टीले सिंहदरबारमा जनताको झण्डा गाड्ने बताए

श्रेष्ठले भने, 'जुवाको काँध फेर्नुपर्छ। गाँउघरमा गोरुले नजोते जुवाको काँध फेर्नु पर्छ। अब समाजवादी पार्टीले काँध फेर्छ। यी पार्टीहरु काम लाग्दैनन् अब स्थानीय तहदेखि केन्द्रसम्म काँध फेरिन्छ।'

उनले सरकारको नेतृत्व गरेको नेपाल कम्यनिस्ट पार्टी (ने क पा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई थारो गाईको संज्ञा दिँदै गाईले दुध देला की भनेर गौमाताको रुपमा पूजा गरेर बस्ने दिन गएको उद्घोष गरे। त्यसको विकल्प आएको र समाजवादी पार्टी वैकल्पिक शक्ति नभइ राष्ट्रिय मुलधारको शक्तिको रुपमा उभिने बताए।

त्यस्तै उपाध्यक्ष रेणु यादवले पनि मातृभाषामा संवोधन गर्दै सिंहदरबारमाथि धावा बोलिन्।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री तथा नवगठित समाजवादी पार्टीका उपाध्यक्ष मोहम्मद लालबाबु राउतले सातै प्रदेशमा समाजवादी पार्टीको सरकार बन्ने घोषणा गरे। उनले हालका पार्टी र केन्द्रको सरकारका कारण संघीयता कार्यान्वयन गर्न समस्या भएको भन्दै समाजवादी पार्टीको नेतृत्वमा संघीयता कार्यान्वयन गरिने दाबी गरे।

उनले अन्य दलमा समावेशी र भिजन भएको नेता र नेतृत्व नभएको भन्दै भिजन र समावेशिता र सिद्धान्तका आधारमा समाजवादी पार्टी समावेशी संघीयताको कार्यान्वयन गर्ने पार्टी भएको बताए। उनले प्रदेश २ मा मात्र नभइ देशको नेतृत्व गर्ने पार्टी भएको बताए। 'उनीहरुको पार्टीमा भिजन भएका नेता कहाँ छन्?, मधेस पहाड र हिमालको प्रतिनिधित्व गर्ने गरी नेताहरु कहाँ छन्?' उनले अगाडि भने,'हिमाल पहाड जोड्ने पार्टी यही पार्टी हो। अब सातै प्रदेशमा समाजवादी पार्टीको सरकार बन्छ।'

त्यस्तै पार्टीका उपाध्यक्ष पर्सुराम खापुङले अहिलेको सरकारले असफल हुने भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे। 'प्रधानमन्त्री ज्यूले आफै भन्नुहुन्छ। मेरो गाडीमा ब्याक गियर छैन। तपाईँलाई स्मरण होस ब्याक गियर नभएको गाडी दुर्घटनामा पर्छ,' उनले भने।

ने क पा र कांग्रेसले देश विकास गर्न नसक्ने दमननाथ ढुंगानाको आरोप, समाजवादीलाई शुभकामना

समाजवादी पार्टीको घोषणा कार्यक्रममा सुरु हुनु अगावै मञ्चमा कुर्सीहरु लाइन मिलाएर राखिएका थिए। दुई लाइनमा राखिएका कुर्सीमा बस्ने नेताको नाम राखिएको थियो। पहिलो रोको एउटा कुर्सीमा नाम थियो दमननाथ ढुंगाना।

कांग्रेस नेतासमेत रहेका ढुंगानाको नाम देखिएपछि कतै उनी पनि यतै त आएनन् भन्ने चर्चा चल्यो। कार्यक्रममा शुभकामना दिन आएका उनी पाँचौ नम्बरमा बोले। र, निस्किए।

उनले सम्बोधनका क्रममा नेपाली कांग्रेस र ने क पाले देशलाई निकास र विकास दिन नसक्ने भन्दै समाजवादी पार्टीले मात्र दिन सक्ने उद्घोष गरे।

उनले पार्टी एकताको दिन पार्टी निर्माणको दिनमात्र नभएर इतिहास निर्माण गर्ने दिन भएको बताए। भने, 'आज पार्टी एकताको दिन मात्र होइन इतिहास निर्माण गर्ने दिन हो। हुन त कांग्रेसले पनि समाजवाद भन्छ। कम्युनिस्टले पनि भन्छन्। बास्तविक रुपमा उनीहरुबाट देशले निकास पाउन सक्दैन। विकास पाउन सक्दैन। समाजवादी पार्टीले मात्र विकास गर्न सक्छ। यो मेरो विस्वास हो।'

उनले नेताहरुलाई शुभकामना दिए। ढुंगानाले कांग्रेस ने क पाले निकास नदिने भन्दै गर्दा हलबाट तालीले स्वागत भयो। 'अहिले ताली पिटेर मात्र हुँदैन। यसमा तपाईहरुको त्याग र समर्पण पनि चाहिन्छ। पूराना पार्टीहरु भ्रष्टाचारमा लिप्त भए। यहाँहरुका नेताहरुमा भिजन छ। तर तपाईँहरुले झकझकाउन जरुरी छ।'

यो पनि

बाबुराम पत्नी हिसिला नयाँ पार्टीमा उपाध्यक्ष, पदाधिकारी घोषणामा नाम तलमाथि भएको भन्दै सच्चिए बाबुराम

समाजवादी पार्टीको लक्ष्य ११ प्रदेश : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, समानुपातिक प्रणालीबाट सांसद

फोरम - नयाँ शक्ति एकतामा करिश्मा क्रेज : यस्ता थिए ५ रोचक दृश्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell