
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनमा आज सम्बोधन गर्दैछन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। गत शुक्रबार नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस भएको थियो। दुबै सदनमा मंगलबार छलफल सकिँदैछ।
नीति तथा कार्यक्रमलाई विपक्षी दलहरूले ‘आश्वासनको पुलिन्दा’ भन्दै आलोचना गरेका छन्। संघीय संरचना र मर्म अनुसार कार्यक्रम नआएको विपक्षीको टिप्पणी छ।
नीति तथा कार्यक्रममा पेस भएका मेरो शब्द शब्दावली तथा अन्य तथ्याङ्कमा पनि प्रतिपक्ष दलको प्रश्न छ।
ठोस आधार र अध्ययन बिना नै नीति प्रस्ताव गरिएको विपक्षी दलको टिप्पणी छ। विपक्षी दलहरुका तर्फबाट ६ वटा संशोधन समेत दर्ता भएका छन्।
मंगलबारको पहिलो बैठकमा नीति तथा कार्यक्रमको छलफल सकिनेछ। दोस्रो बैठकमा प्रधानमन्त्रीले जवाफ दिनेछन्।
प्रधानमन्त्रीको जवाफपछि दर्ता भएको संशोधनलाई सदनमा निर्णयार्थ पेस गरिनेछ। संशोधनको टुङ्गो लागेपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
नीति तथा कार्यक्रम पारितसँगै २६ वैशाखमा सदनमा प्रिबजेट छलफल सुरु गर्ने तयारी छ।