काठमाडौँ : मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश नम्बर २ ले जितेको छ।
मंगलवार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि सुवास ऐरले सर्वाधिक ४७ रन बनाए। सन्दिप बिस्टले २८, आसिस भट्टले २१, गोबिन्द बिस्टले १४ रन योगदान गरे।
बलिङमा प्रदेश २ का लागि विशाल पटेल र निखिल सिंहले ३-३ विकेट लिए।
१३४ रनको लक्ष्य प्रदेश २ ले २६.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो।
प्रदेश २ को जितमा रोहन बिकले सर्वाधिक ३६ रन बनाउँदा, निखिल सिंहले २७, सेख इमरानले १४ र विशाल पटेलले २८ रन जोडे।
सुदूरपश्चिमका लागि आसिस भट्टले ३ तथा गोबिन्द भट्ट र सचिन बडायकले १-१ विकेट लिएपनि टिमलाई जिताउन सकेनन्।
मनमोहम मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेता प्रदेश २ ले नगद २ लाख ५० हजार हात पार्यो भने उपविजेता सुदूरपश्चिमले १ लाख २५ हजार पायो। दुवै टोलीले नगद पुरस्कार बराबरकै क्रिकेट किट्स पनि पाए।
उपविजेता सुदूरपश्चिमका सुवास ऐर प्लेअर अफ दि सिरिज घोषित भए। उनले ब्याटिङमा दुई अर्धशतकसहित सर्वाधिक २०९ रन बनाएका थिए। यस्तै बलिङमा सर्वाधिक ९ विकेट लिएका थिए।
यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ३ कै दिपक बोहरा घोषित भए। आइशले १ अर्धशतकसहित १२० रन बनाएका थिए भने दिपकले ८ विकेट लिएका थिए।
प्रदेस ३ बाटै भार्गब चटौत इमर्जिङ प्लेयर घोषित भए।
प्रतियवगिताको विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपाका नेता माधव कुमार नेपाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायतले पुरस्कार प्रदान गरेका थिए।