PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यस्तो छ प्रधानमन्त्री ‌ओलीको भियतनाम र कम्बोडिया भ्रमण तालिका



विधुर ढकाल

यस्तो छ प्रधानमन्त्री ‌ओलीको भियतनाम र कम्बोडिया भ्रमण तालिका
फोटो: VNA

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार साता लामो विदेश यात्रामा निस्किने भएका छन्। प्रधानमन्त्री ओलीको पूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको दुई देशीय भ्रमण तालिका परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ।

प्रधानमन्त्री ओली वैशाख २६ गते (मे ९) मा भियतानम जाने छन्। त्यहाँदेखि प्रधानमन्त्री ओली ३० गते (मे १३) मा उनी कम्बोडिया जाने छन्।

प्रधानमन्त्री ओली बुद्ध जयन्तीको छेको पारेर भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका हुन्। भियतनाम र कम्बोडिया बुद्ध धर्म बाहुल जनसंख्या भएका मुलुक हुन्।

भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा ओली त्यहाँ जान लागेका हुन्। भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षीसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले त्यहाँ भियतनामका राष्ट्रिय सभाका अध्यक्षसँगसमेत भेट वार्ता गर्नेछन्। द्विपक्षीय भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्नका लागि केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि सम्झौताका विषयमा मन्त्रालयले केही जानकारी गराएको छैन।

भियतानम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको हो ची मिन्ह नेसनल एकेडेमी अफ पोलिटिक्समा विशेष प्रवचन दिने छन्। त्यस्तै भियतनामको राजधानी हानोइमा आयोजना हुने नेपाल-भियतनाम व्यवसायिक फोरममासमेत सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन तथा लगानीका विषयमा चर्चा गर्ने बताइएको छ।

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणका क्रममा नेपाल–भियतनाम सीधा हवाई उडान सम्झौताको परिमार्जन तथा कार्यन्वयन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी सरकारले गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ। नेपाल र भियतनामबीच सन् २०१५ मा सीधा हवाई उडानसम्बन्धी सम्झौता भएको थियो। तर कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै प्रधानमन्त्री ओली भियतनाममा आयोजना हुने बौद्ध धर्मसम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन्। संयुक्त राष्ट्र संघको बुद्ध जयन्ती दिवस (युएन डे अफ वेसक) समारोह यस पटक भियतनामको उत्तरी प्रान्त हा नाममा हुँदै छ। सम्मेलन मे १२–१४ मा हुने छ

राष्ट्र संघले बुद्ध जयन्तीलाई मान्यता दिएको २० वर्ष पुगको छ। सन् १९९९ मा श्रीलंकाको प्रस्तावमा रिजोलुसन पारित गर्दै यसको सुरुवात भएको थियो। सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो।

अन्तर्राष्ट्रिय रुपमा यो दिवस थाइल्याण्डले ११ पटक भियतनामले दुई पटक र श्रीलंकाले एक पटक आयोजना गरेका छन्। भियतनामले यस अगाडि सन् २००८ र २०१४ मा यो सम्मेलन आयोजना गरेको थियो।

गत वर्ष यो सम्मेलन थाइल्याण्डमा भएको थियो। सन् २०१७ मा सम्मेलन श्रीलंकामा भएको थियो। सो सम्मेलनको समापन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंका गएकी थिइन्

प्रधानमन्त्री ओली भियतनामको भ्रमण सकेर वैशाख ३० गते कम्बोडिया प्रस्थान गर्ने छन्। त्यहाँका प्रधानमन्त्री हु सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन्।

गत मंसिरमा युनिफिकेसन चर्च निकट युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हु सेनले प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए। विवादास्पद चुनावमार्फत एकलौटी सरकार बनाएका हुले पछिल्लो पटक अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

कम्बोडिया भ्रमणका क्रममा दुई समकक्षीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। त्यस्तै प्रधानमन्त्री ओलीसँग त्यहाँ राष्ट्रियसभा र सिनेटका अध्यक्षसँग भेटवार्ता गर्ने छन्।

सो भ्रमणका क्रममा नेपाल–कम्बोडिया सीधा हवाई उडान सम्झौताको कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ।

गत मंसिरमा काठमाडौंमा आएका कम्बोडियाका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको थियो

दुई देशबीच भएको सम्झौताअनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ। यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएका थिए।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराईसहित केही सांसद, नेपालका सरकारका उच्च अधिकारीहरु र स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी हुने छन्।  त्यस्तै नीजि क्षेत्रका व्यवसायी पनि भ्रमण दलमा सहभागी हुने छन्। प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने छन्।

भ्रमणबारे संसदलाई जानकारी

यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो भियतनाम र कम्बोडियाको भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्। आज बसेको संघीय संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो साता लामो पूर्वी एसियाली मुलुकहरुको भ्रमणबारे जानकारी गराएका हुन्।

उनले आफ्नो भ्रमणबाट नेपालको पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell