
साविक विजेता चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को फाइनलमा प्रवेश गरेको छ।
मंगलावार भएको क्वालिफायरमा मुम्बईले चेन्नाईलाई उसैको मैदानमा ६ विकेटले पराजित गरेको हो। यस सिजन चेन्नाईमाथि मुम्बईको यो तेस्रो जित हो। यसअघि लिग चरणमा मुम्बईले चेन्नाईलाई दुव खेलमा हराएको थियो।
मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायर (चेन्नाई भर्सेस दिल्ली/हैदरावाद) को विजेतासँग खेल्नेछ। मुम्बईसँग हारेपनि चेन्नाईले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ। दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुने एलिमिनेटरको विजेतासँग चेन्नाईले फाइनल प्रवेशका लागि खेल्नेछ।
तीन पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो पाँचौ पटक हो। सन् २०१० मा पहिलो पटक फाइनल खेल्दा चेन्नाईसँग पराजित भएको मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा उपाधि जितेको थियो।
सूर्य कुमारको अर्धशतक
चेन्नाईले दिएको १३३ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। मुम्बईको जितमा सूर्यकुमार यादवले अर्धशतकिय पारी खेले।
२१ रन हुदा दुवै ओपनरला२ गुमाएको मुम्बईको इनिङ्सलाई सम्हाल्ने क्रममा सूर्य कुमार र इशान किसनले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए।
इशान किसनले २८ रन योगदान गरे।
इमरान ताहिरले १४औँ ओभरको अन्तिम दुई बलमा इशान किसन र क्रुनल पाण्ड्या (०) को विकेट लादै चेन्नाईलाई खेलमा फर्काउने कोसिस गरेका थिए। ताहिरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।
तर त्यसपछि क्रिजमा पुगेका हार्दिक पाण्ड्या र सूर्य कुमार मिलेर मुम्बईलाई सहज जित दिलाए।
सूर्य कुमारले ५४ बल खेल्दै १० चौकाको मद्दतमा नटआउट ७१ रन बनाए। हार्दिकले नटआउट १३ रन बनाए।
त्यसअघि चेपुकस्थित एमएक चिदम्बर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो।
चेन्नाईका लागि अम्बाटी राएडुले सर्वाधिक ४२ र कप्तान महेन्द्र सिंह धोनीले ३७ रन बनाए। दुवै नटआउट रहे। राएडुले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै धोनीले २९ बल खेल्दा ३ छक्का प्रहार गरे। मुरली विजयले २६ रन योगदान गरे।
मुम्बईका लागि दिपक चाहरले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए। क्रुनल पाण्ड्या र जयन्त यादवले १-१ विकेट लिए।