'ज्यान दिन्छौं तर यो घरमा डोजर चल्न दिँदैनौं'
गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि ६१ वर्षीय सजीव बज्राचार्य प्रतिरोधको तयारी गरिरहेका छन्।
सजीवका पुर्खाहरुले असनको क्वथुननीको यही घरबाट व्यापार सुरु गरेका थिए। सजीवले आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिँदै आएका छन्।
तर, गुठीको निर्णयसँगै सजीवसँगै १४ परिवार असनबाट विस्थापित हुने जोखिम छ। त्यसैले असन क्वथुननी बचाउ अभियानले असनको मध्यभागमा व्यापारिक प्रायोजनको कम्पलेक्स बनाउन नदिने भन्दै संघर्षको तयारी गरिरहेको हो।
गुठी संस्थान अन्तर्गत 'श्री ५ को वायुदेवता गुठी'को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन्। ३ परिवारका १५ जना सोही घरमा बस्दै आएका पनि छन्।
व्यापार र बसोवास गरे वापत उनीहरुले गुठी संस्थानलाई पहिले देखि नै भाडा तिर्दै आएका थिए।
भाडा तिरिरहेको भएता पनि गुठी संस्थानले पुस्तौंदेखि असनमा बस्दै आएका रैथाने नेवारहरुलाई क्वथुननीबाट हटाएर व्यापारिक कम्प्लेक्स बनाउने योजना ल्याएको हो।
गुठी संस्थानले उनीहरुसँग २०७० साल फाल्गुनमा घर वहाल कर बुझाउने गरी करार सहमति गरेको थियो। सन्तान दर सन्तान बस्दै आएकाहरुसँग प्रत्येक ५ वर्षमा बहाल पुनरावलोकन गर्ने र कम्तीमा ५ प्रतिशत बहाल बृद्धी गर्ने सहमति भएको थियो।
तर, भूकम्पले घर भत्किएको भन्दै करार अवधी बाँकी रहँदा (२०७४ मा) गुठी संस्थानले बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेड कम्पनीलाई घरको पुनर्निर्माण र त्यहाँ व्यवसायिक क्रियाकलाप गर्न २७ वर्षका लागि वहाल करार सम्झौता गर्यो।
मौलिक शैलीमा बनेको घर र स्थानीय नेवारहरुको बाहुल्य रहेको क्वथुननीमा आफूहरुलाई कुनै जानकारी नदिई नयाँ सहमति गरेको र सांस्कृति महत्वको उक्त घरलाई पूरै व्यापारिक प्रयोजनका लागि उपयोग गर्न दिने गरी भएको सहमतिको स्थानीयले विरोध गरेका छन्।
इतिहासकार साफल्य अमात्यका अनुसार मल्लकालमा काठमाडौंको शहरी क्षेत्रको विकासका लागि टोल र खुल्ला क्षेत्रको आवश्यकता मध्यनजर गर्दै यस्ता चोकहरु बनेका थिए।
मल्लकालमा सडकका दुवै भागमा घरहरु बन्थे र त्यो कुनै न कुनै चोकसँग ठोक्किन पुग्थ्यो। चोकहरुमा सांस्कृतिक जमघट, धार्मिक परम्पराहरु हुनुका साथै त्यहाँ बनाइएका सत्तल मानिसका लागि विश्राम गर्न बनाइएका हुन्थ्यो।
इन्द्रचोक, मखन चोक, मरु चोक , जैशीदेवल चोक, लगन चोकसँगै असन चोक पनि मल्लकालमा नै विकास भएको थियो। प्रत्येक चोकमा काष्ठकलाले निपूण मन्दिरहरु बनाइएका थिए। पछि बिस्तारै ती चोकहरु 'व्यापारिक हब' बन्यो। क्वथुननी पनि मल्लकालमा बनेको सांस्कृतिक धरोहर मानिन्छ।
राजाले कब्जा गरेको घर
मल्लकालमा विकास भएको असनको क्वथुननीमा बनेका घर नेपालको व्यापार इतिहासको एउटा कालखण्ड पनि हो। ३ सय वर्षभन्दा पहिलादेखि त्यहाँ नेवार समुदायका विभिन्न जातिका मानिसहरु वसोवास गर्दै आएका छन्।
गुठी संस्थान श्री ५ को वायु देवता गुठीको नाम रहेको सो जग्गाको तालुकदार शाह परिवार अन्तर्गत रहेको छन्। त्यसको तालुकदार वा संचालक हुन् लीलाविक्रम शाह।
अब प्रश्न आउँछन, मल्लकालीन काठमाडौं शहरको मध्यभागमा रहेको रैथाने नेवारहरुको बाहुल्य रहेको असन क्षेत्रको क्वथुननीमा शाह परिवारको गुठी र स्वामित्व कसरी आयो?
स्थानीयहरु क्वथुननीमा रहेको घर पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि रणबहादुर शाहको पालामा क्वथुननीमा रहेको बहाल कब्जा गरिएको बताउँछन्।
पहिला क्वथुननीलाई कव्थु बहा: भनिन्थ्यो। त्यहा रहेको 'चिबहा:द्य:' (चैत्य)ले त्यसको पुष्टि गर्ने स्थानीयहरुको दाबी छ।
शाहहरुले कब्जामा लिएपछि राजखलकमा दिवंगत भएका र वसन्तपुर दरबारमा मारिएकाहरुको वायु शान्तिको पूजाका लागि त्यही घरबाट वायु हटाउने भनेर दरबारमा पूजा लग्ने प्रचलन सुरु गरियो।
पूजा गराउन तालुकदार तोकियो। दशैंमा क्वथुननीबाट शाहहरुको वायु शान्त गर्न दरबारमा तिनै तालुकदारले आफ्नो घरबाट पूजासामान सहित पूजा गर्न जान्थे। क्वथुननीमा बस्नेहरुले त्यहीबेलादेखि तालुकदारलाई आफू बसेबापत् भाडा तिर्न बाध्य भएका थिए।
वायु देवता गुठी भनेता पनि त्यहाँ कुनै वायु देवताको संरचना छैन। प्रत्येक वर्ष धादिङबाट वायुदेवता ल्याएर त्यही घरमा राखेर राजदरबार लग्ने प्रचलन भने चलाइएको थियो।
सजीव भन्छन्, 'हुँदै नभएको देवता बाहिरबाट ल्याएर त्यही देवताको नामबाट गुठी संचालन गरेर शाहहरुले क्वथुननी कब्जामात्र गरेनन्, यहाँ सांस्कृतिक अतिक्रमण गर्ने प्रयास समेत गरे।'
त्यसको साक्षी हो- क्वथुननीको पछिल्लो भागमा रहेको 'क्वा:पा द्य:' को मूर्ति रहेको अशोक बृक्ष विहार।
'क्वा:पा द्य:' लाई स्थानीयहरु अमिताभ बुद्धका रुपमा पुज्छन्। अमिताभ बुद्धको मूर्ति ५ सय वर्ष पुरानो भएको स्थानीय बताउँछन्। उक्त विहारको छुट्टै गुठी छ।
उक्त विहारमा प्रत्येक वर्ष हुने गुँला पर्वमा विशेष पूजा हुन्छ। विहारमा पञ्चदान आयोजना गरिन्छ। गुठीको कम्प्लेक्स मोहले विहारको सांस्कृतिक पर्व नै रोकिने डर छ स्थानीयलाई।
गुठी संस्थान भने सो विहार र कोथुननीमा रहेको चैत्य मासेर व्यापारिक कम्पलेक्स बनाउन उद्धत देखिएको विहारका गुठीयारहरुको आरोप छ।
'नेवार समुदायमा बौद्ध नेवारहरुको बाहुल्यता छ। प्रत्येक चोक वा ननीमा चैत्य बनाइएका छन्। त्यो सबै शाहकाल भन्दा पुराना हुन्। शाहहरुले चैत्य र विहार स्थापना गरेका होइनन्। अभिताभ बुद्धको मूर्ति यहाँ हुनाले पनि यो शाहहरुको नभइ नेवारहरुको घर भएको पुष्टि हुन्छ,' सजीवले भने।
त्यसो त तालुकदारभन्दा अघि देखि नै यो ठाउँमा आँखा लगाउनेहरु कम थिएनन्।
२०६२ सालमा पनि क्वथुननी भत्काएर नयाँ घर बनाउने प्रयास सुरु भएको थियो। त्यसका लागि तालुकदारले घर बनाउन नक्सा समेत पास गराइसकेका थिए। नक्सा पास गराउँदा जग्गा धनीको नाममा भने 'गुठी संस्थान श्री ५ वायु देवता गुठी' को सट्टा 'श्री ५ वायु देवता गुठी' भनी लेखिएको थियो।
'तालुकदारले त्यहीबाट गलत काम गर्यो। नक्साको किर्ते गरेर गुठीको नाम हटायो,' सजीवले दुई नक्सा देखाउँदै भने, 'त्यसपछि हामीले जिल्ला अदालतमा नक्सा बदर गर्न रिट दियौं। अदालतले हाम्रै पक्षमा फैसला सुनायो। पुनरावेदन र सर्वोच्चले भने बहालमा बस्नेले नक्सा बनाउन रोक्न सक्दैन भनेर फैसला गर्यो। यो यहाँका नेवारहरुलाई विस्थापित गर्न गरिएको ग्र्यान्ड डिजाइन जस्तो लागिरहेको छ अहिले।'
उनीहरुले जिल्ला अदालतमा २०७० सालको 'करारको यथावत परिपालना गरी पाउँ' भन्दै फिराद पत्र दायर गरिसकेका छन्। गुठी संस्थानले त्यसमा प्रत्युत्तर पनि दिइसकेको छ। तर, फैसलाको टुंगो नहुँदै घर खाली गराउन खोजेर गुठी स्थानीयको साथमा भन्दा व्यापारीको साथमा देखिएको क्वथुननीका स्थानीयहरु बताउँछन्।
उसो त अहिले गुठी संस्थानमा तालुकदार भन्ने पद नै छैन। तर, गुठीले भने श्री वायु देवता गुठीका लीला विक्रम शाहलाई तेस्रो पक्ष र बज्रयोगिनी सामान्य बहुउद्देश्यीयका राजेन्द्र बहादुर गोर्खालीलाई तेस्रो पक्ष बनाइ घर बहालमा दिने सम्झौता गरेको छ। स्थानीयका अनुसार राजेन्द्र गोर्खाली तिनै हुन् जो काठमाडौंमा 'राजु गोर्खाली'का रुपमा 'कुख्यात' छन्। ठूलाठूला ग्याङफाइटका घटनामा यिनको नाम सधैं जोडिन्थ्यो। एक वर्षको अन्तरालमै पनि व्यापारीलाई धम्क्याएको अभियोगमा पटक पटक प्रहरीले यिनलाई पक्राउ गरेको थियो। कुनै समय वाग्मती नदीबाट बालुवा झिक्ने ठेक्कसमेत यिनैले हडपेका थिए। वाग्मती दोहनले अन्तत: वाग्मती सभ्यता नै जोखिममा पुग्यो र अहिलेको अवस्था निम्तिएको छ। अहिले राजेन्द्र भित्री शहरमा यस्ता ठेक्कामा सक्रिय छन्, शक्ति र पहुँच पनि उनको बलियो छ। हत्या केसमा लामो समय कैद सजायँसमेत यिनले काटेका छन्।
अहिले तालुकदार पद हाल नभए पनि पहिलाको तालुकदार रहँदाको हैसियतमा यस्तो सहमति भएको गुठी संस्थान काठमाडौं शाखाका एक कर्मचारीले बताए।
वायु देवता गुठी छुट गुठीको जग्गा भएकाले त्यसको तालुकदार वा गुठीयारले त्यस मन्दिरको जग्गा जमिनको कुटको आयस्ता खान पाउने र त्यो आयस्ता खाएवापत् महिना वा वर्षमा गर्नुपर्ने धार्मिक कार्य गर्नुपर्ने हुन्छ। तर, राजा नै नरहेपछि पहिला झै सो घरमा आएर पूजा गर्ने चलन भने लोप भइसकेको स्थानीयको दाबी छ।
हाल असनको क्वथुननीमा रहेको सो जग्गाको पूरा स्वामित्व गुठी संस्थानमा छ। गुठीको स्वामित्वमा हुँदा हुँदै तालुकदारले जग्गा सम्बन्धी अन्य केही काम गर्न पाउँदैन। तर, पनि तालुकदारले नै नक्सा पास गरी बज्रयोगीनीसँग २०६३ सालमा नै करारनामा भइसकेको थियो।
गुठी भने क्वथुननी भत्काउने मुडमा नै छ।
'क्वथुननीमा अहिले बसिरहेकाहरुलाई प्राथमिकतामा राखिँदैन भन्ने छ त?' भन्ने प्रश्नमा गुठी संस्थानका प्रवक्ता सरोज थपलियाको जवाफ थियो - 'अब राखिँदैन। किन राख्नु उनीहरुलाई? भाडामा बस्ने मानिसहरुलाई राख्नुपर्ने किन?'
तर, २०७४ सालमा गुठी, तालुकदार र निर्माण कम्पनीबीच भएको सहमतिपत्रको बुँदा २१ मा 'हाल सो घरमा रित पूर्वक बस्दै आएकाहरुलाई भवन निर्माण कार्य पूरा भएपछि प्राथमिकता दिनुपर्नेछ' भनेर उल्लेख गरिएको छ। तर, बहाल तय गर्न भने ठेकेदार कम्पनी स्वतन्त्र हुनेछ भनी उल्लेख गरिएको छ।
सजीवले भने आफूहरुले नै घर निर्माण गरी बस्ने प्रस्ताव गरेको तर गुठीले कुरा सुन्न नचाहेको बताए। आफूहरुले वर्षको करिब ७ लाख गुठी संस्थानलाई तिर्दै आएको तर ठेकेदारलाई भने वर्षको ८ लाख ३० हजारको भाडामा जग्गा दिन आँटेकाले यसमा ठूलो चलखेल भएको हुनसक्ने बताए। भने, 'यहाँ त व्यापार गर्ने नाममा अभिताभ बुद्धलाई नै विस्थापित गर्न खोजियो। चैत्य नै मास्न खोजियो। बालुवाटार नै बेच्नेले बुद्ध नबेच्लान भन्न सकिँदैन।'
गुठीले रातो स्टिकर पाएको घर भएकाले सुरक्षाको दृष्टिले सो घर भत्काउने तर्क गरिरहँदा क्वथुननीका स्थानीयहरु भने रातो स्टिकर नपाएको र भूकम्पका कारण बस्न अयोग्य नै नभइसकेको बताउँछन्।
असन क्वथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमी भन्छन्, 'रातो स्टिकर र भूकम्पले क्षति गरेको बहानामा गुठीले यहाँका रैथानेमाथि प्रहार गर्दैछ। यस्तो घरमा असनमा धेरै छन्। भूकम्प गएको चार वर्ष भइसक्यो खै केही भएको छैन। उनीहरुले क्वथुननीलाई व्यापारिक स्वार्थका लागि प्रयोग गर्न चाहेका हुन्।'
सजीव आफूहरु गुठीसँग सहकार्य गरेर ठेकेदारबाट नभइ आफूहरुले नै क्वथुननी बनाउन तयार रहेको बताउँछन्। १९९० साल मा गएको भूकम्प र त्यस अघिका भूकम्पमा समेतआफ्ना बाजेबुवाहरुले घर र बिहार पुनर्निर्माण गरेको उनले बताए। तर, वडादेखि महानगरपालिकासम्म, अख्तियारदेखि सर्वोच्चसम्म जाँदा आफूहरु झनै पीडित बन्दै गएको बताउँछन्।
अतिक्रमणको यो सिलसिला सुरु भयो २०३१ सालबाट। नापी विभागले फित्ता लिएर आएका बेला क्वथुननी वरिपरिका सबैले लालपुर्जा पाए। एउटामात्रै परिवार बस्दै आएको वायु देवताको नाममा रहेको जग्गामा बनेको एक अर्को घरले समेत लालपुर्जा पायो। तर, धेरै परिवार भएको र छुट्टाछुट्टै संरचना भएकाले १४ परिवारको लालपूर्जा बनाइएन। तर 'सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने' भनेर नापीले आफ्नो कागजपत्रमा उल्लेख गर्यो।
गुठी संस्थानले पनि क्वथुननीमा बस्दै आएकाहरुसँग गरेको करार सम्झौतामा 'सन्तान दर सन्तान देखि छुटवाला गुठीयारलाई बहाल बुझाउँदै बस्दै आएका' भनेर उल्लेख गरेको छ।
सरकारले नै आफूहरु 'सन्तान दर सन्तान देखि यहाँ बस्दै आएको भनी उल्लेख गरेता पनि नयाँ बन्ने संरचनामा प्राथमिकतामा राख्ने कुरा आफूहरुलाई मान्य नहुने क्वथुननीका स्थानीय बताउँछन्।
भन्छन्, 'ठेकेदारले महिनाको १ लाख माग्ला, १० लाख माग्ला। हामी त्यति तिर्न सक्दैनौं। क्वथुननी हामी आफै बनाउँछौं। शाहहरुले अतिक्रमण गरेको जग्गा यहीँका मानिसलाई फिर्ता दिनुपर्छ।'
प्रवक्ता थपलिया भने पञ्चायतकालमा दरबारबाटै यो गुठी संचालन र व्यवस्थापनको जिम्मेवारी गर्ने अधिकार तालुकदारलाई दिन हुकुमप्रमांगी भएको बताउँछन्। पछिमात्रै यो गुठी संस्थानको स्वामित्वमा आयो।
'गुठीको जग्गा भयो भन्दैमा त्यसलाई व्यापरिक हब बनाउदै जाने हो त?'
उनले त्यो गुठी संस्थानको बाध्यता रहेको सुनाए। भने, 'पहिला गुठी संस्थानको खर्च सबै सरकारले हेर्थ्यो। पछि अर्थ मन्त्रलयले आफ्नो खर्च गुठीले आफै गर्नु भनेपछि त आय बढाउन पर्यो। त्यसपछि सार्वजनिक र काममा नआएका गुठीका जग्गालाई भाडामा दिने प्रक्रिया अघि बढेको हो।'
उनको यस्तो जवाफबाट सन्तुष्ट छैनन् स्थानीय। 'आयस्रोत जुटाउने भन्दैमा परापूर्वकालदेखि यहाँ बस्दै आएकाहरुलाई हटाउनु भएन नि। गुठी संस्थानले त यहाँकै स्थानीयसँग कुरा गरेर जनप्रतिनिधिसँग समन्वय गरेर क्वथुननी बनाउनुपर्ने हो। तर, यहाँ त दादागिरी देखाएर काठमाडौंका रैथानेलाई नै विस्थापित गर्ने काम भयो,' सजीवले भने।
असनको मध्य र व्यस्त ठाउँमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर त्यहाँ व्यापारिक कम्पलेक्स बनाउन गुठी संस्थान सक्रिय हुनु नै दुर्भाग्यपूर्ण मान्छन् यहाँका बासिन्दा। यसै त काठमाडौं उपत्यकामा गुठी संस्थानका कारण नेवारहरुको चाडपर्वमा असर पर्दै गएको र कतिपय जग्गामा व्यापार गर्न दिएको घटनाहरु सार्वजनिक भइरहँदा गुठी संस्थान नै खारेज गर्नुपर्ने माग समेत उठिरहेको छ।
सरकारले पनि गुठी संस्थानको नाम परिवर्तन गरेर राष्ट्रिय गुठी प्राधिकरण राख्ने तयारी गरिरहेको छ।
यो अवस्थामा गुठी संस्थानले वैसाख ११ गते काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा क्वथुननीका घर ३ दिन भित्र खाली गराउन चिठी पठाएको थियो।
तर, क्वथुननीका स्थानीय भने घर छाड्न तयार छैनन्। उनीहरु गुठीको कार्य संचालनको विरुद्ध विद्रोह गर्ने तयारी गरिरहेका छन्। वैसाख २७ गते असन क्वथुननी बचाउ अभियानको नेतृत्वमा विरोधसभा आयोजना हुँदैछ। नेवार समुदायभित्रका विभिन्न समाजहरु र स्थानीय जनप्रतिनिधिहरुलाई बोलाएर क्वथुननीको महत्व, इतिहास र गुठी संस्थानको व्यापारिक नियतका बारे उजागर गर्ने तयारी गरिरहेका छन्।
सायमी भन्छन्, 'हामी जनदबाब बाटै क्वथुननी बचाउँने कार्य सुरु गर्छौं। तर डोजर चले हामी त्यसको प्रतिरोध गर्छौ। हामी हाम्रो ठाउँ जोगाउन विद्रोह गर्छौं।'