PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अघिल्लो वर्षको बजेटमा आलोचित बनेको प्रदेश सरकार यसपाला बजेट बनाउन कति सजग?



पी बी खड्का

अघिल्लो वर्षको बजेटमा आलोचित बनेको प्रदेश सरकार यसपाला बजेट बनाउन कति सजग?

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि गृहकार्य थालेको छ। आगामी असार १ गते बजेट ल्याउनेगरी गृहकार्य थालिएको हो। 

चालु आर्थिक वर्ष हचुवामा घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षका लागि संयमित भएर गृहकार्य थालेको हो। चौतर्फी आलोचित बनेको प्रदेश सरकार अहिले महत्वाकांक्षी बजेट नल्याउने योजनामा देखिन्छ।  

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने आर्थिक मामिला तथा योजना सचिव सन्तबहादुर सुनारको भनाई छ। चालु आर्थिक वर्षको तुलनामा २ देखि बढीमा ४ अर्बसम्म मात्रै बढाउने योजनामा  छ प्रदेश सरकार।

‘हामी चालु आर्थिक वर्षको जस्तो महत्वाकांक्षी बजेट ल्याउँदैनौं। संयमित भएर अहिले गृहकार्यमा जुटेका छौँ,’ पहिलोपोस्टसँग कुरा गर्दै उनले भने, ‘स्रोत अनुमान समितिका अनुसार आगामी वर्षका लागि ३० देखि अधिकतम ३२ अर्बसम्मको यथार्थ बजेट ल्याउने गृहकार्य भइरहेको छ। असार १ मै बजेट भाषणको तयारी  छ।’ 

कुनै स्रोत र साधनको निर्क्यौल नगरेरै बजेट ल्याउँदा कार्यान्वयनमा समस्या देखिएको बताए। जसले गर्दा पनि हाल प्रदेश सरकार अध्ययन अनुसन्धान गरेर बजेट ल्याउने तयारीमा रहेको बताए।

‘गएको वर्षमा अनुभव नभएर पनि हो। बजेट ल्याउँदा नै घाटा बजेट आयो। सरकारको स्रोत साधन र राजश्व संकलनको आधारलाई ख्याल नै नगर्दा पनि बजेटमा आलोचित हुनु पुग्यो,’ सचिव सुनारले भने, ‘अबको बजेट अध्ययन, अनुसन्धान गरेर प्रदेशको स्रोत साधनलाई मध्यनजर गरेर अहिलेनै बजेटको तयारीमा लागेका छौँ। हामीले कार्यान्वयन गर्न सक्ने यथार्थ  बजेट ल्याउने कोसिसमा छौँ।’

यस अघिको आर्थिक वर्षमा ल्याएको कूल बजेटको आधा पनि खर्च गर्न नसकेको प्रदेश सरकार यस पटक भने निकै सचेत देखिन्छ। चालु आर्थिक वर्षमा कुल बजेटको करीब १२ प्रतिशत बजेट कार्यान्वयन गरेको प्रदेश सरकार पटक पटक आलोचित हुनु परेको छ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बजेट ल्याएको थियो। जसमध्ये करीब ३ अर्ब ७ करोड मात्रै खर्चेको छ भने, विकास बजेट तर्फ एक अर्ब ९३ करोड ८३ लाख मात्र खर्च गरेको छ। 

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ को बाँकी तीन महिनाका लागि प्रदेश सरकारले १ अर्ब २० करोड ५० लाखको बजेट ल्याएको थियो। उक्त बजेटमध्ये ५० करोड ६ लाख रुपैयाँ  आर्थिक वर्ष ०७५/०७६ का लागि बाँकी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell