काठमाडौँः नयाँ बजेटको तयारी सुरु भएसँगै कर्मचारी वृत्तमा तलब बढ्ने विषयले चर्चा पाउन थालेको छ। कर्मचारी संघ संगठनहरुबीच तलब बढाउन अर्थमन्त्रीलाई दबाब दिने विषयमा छलफल पनि हुन थालेको छ।
आधिकारिक ट्रेड युनियनले तलब वृद्धिका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो तर्फबाट मागपत्र बुझाउने तयारी गरेको छ। आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले समयसापेक्ष तलब वृद्धि आवश्यक भएको भन्दै अर्थमन्त्रीलाई बुझाउने मागपत्रका विषयमा छलफल भइरहेको बताए।
ढकालले नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने वार्षिक मूल्य वृद्धि सूचकाङ्कलाई विचार गर्नुपर्ने उल्लेख गरे। उनले अहिले कर्मचारीलाई खान पुग्ने तलब नभएको भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए।
'निजामती सेवा ऐनले गरेको व्यवस्था कार्यान्वयन होस् भन्ने नै हाम्रो चाहना हो', उनले भने, 'यस पटक मुख्यसचिव, अर्थसचिव र सामान्य प्रशासन सचिव तथा ट्रेड युनियनका प्रतिनिधिसहितको छलफल गरियोस् भन्न चाहन्छौँ।'
ढकालले समायोजन भएर गएका कर्मचारीको हकमा पनि सरकारले विशेष ढंगलेले सोच्नुपर्ने बताए। 'विषयहरू धेरै छन्, समायोजन भएर गएका कर्मचारीलाई पनि राज्यले हेर्नुपर्छ', उनले भने, 'तलबसँग सम्बन्धित धेरै आयोगले पटकपटक सुझाव दिएका छन्, तिनको सम्बोधन होस्।'
ढकालले ट्रेड युनियनले हरेक वर्ष विभिन्न विषय अघि सारिरहेको भन्दै त्यसको कार्यान्वयनका लागि पनि आग्रह गरे। 'यसपटकको बजेटमा तलब आयोग गठन गर्ने कुरा थियो तर त्यो भएन', उनले भने, 'सुशासन कमजोर हुनुको कारण यो पनि एउटा हो।'
गत आर्थिक वर्षमा भत्तालाई तलबमा समायोजन गरिएको थियो। आर्थिक वर्ष २०७३/०७४ को बजेटबाट २५ प्रतिशत तलब बढाए यता तलब वृद्धि भएको छैन।