PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कृषिमुलक तराई : नेपालगञ्जबाट मात्रै नौ महिनामा पाँच अर्बको चामल आयात



रासस

बाँके : चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ। गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म रु ३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व सङ्कलन गरेको छ।

कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ। नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ। देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन्।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ। यस्तै भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ। यो अवधिमा भारतबाट रु एक अर्ब नौ करोड ४७ लाख बराबरको ५३ हजार २५१ मेट्रिकटन आलु नेपाल भित्रिएको जनाइएको छ। नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ।

२७ हजार अवैध कुखुराका चल्ला बरामद

पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले चालू आर्थिक वर्षको नौ महीनामा २७ हजार ४३० अवैध कुखुराका चल्ला र चार हजार २४४ ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ। अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो।

चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा १०६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८२६ अण्डा बरामद गरी नष्ट गरिएको छ। तीमध्ये सबैभन्दा धेरै साउनमा एक हजार ३४४ ब्रोइलर कुखुरा बरामद गरिएको तथ्याङ्क छ।

सो अवधिमा मात्रै एक हजार ३०० चल्ला बरामद गरिएको थियो। अवैधरुपमा कुखुरा, चल्ला, मासु, अण्डा ओसारपसार गर्नेलाई पक्राउ गरी कारवाही गरिएको छ। नौ महीनामा रु नौ लाख ६४ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell