PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस नेतृत्वको विरोध : देउवाइतर समूहको विराटनगरमा शक्ति प्रदर्शन, तुरुन्त महाधिवेशन गर्न हस्ताक्षर संकलनका लागि माग



अनन्तराज न्यौपाने

कांग्रेस नेतृत्वको विरोध : देउवाइतर समूहको विराटनगरमा शक्ति प्रदर्शन, तुरुन्त महाधिवेशन गर्न हस्ताक्षर संकलनका लागि माग

विराटनगरः नेपाली काङ्ग्रेसको देउवाइतर समूहले नेपाल महिला सङ्घको दुई दिने प्रशिक्षणमार्फत् मोरङमा शक्ति प्रदर्शन गरेको छ।

आइतबार मध्याह्न १२ बजेदेखि अपराह्न ७ बजेसम्म चलेको उद्घाटन समारोहमा देउवाइतर सबैजसो मुख्य केन्द्रीय नेता उपस्थित थिए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोल्दा कार्यक्रम स्थल वीरेन्द्र सभागृहको हल ७० प्रतिशत खाली भइसकेको थियो। कार्यक्रममा महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, डाक्टर रामशरण महत, महेश आचार्य, डाक्टर मीनेन्द्र रिजाल र डाक्टर शेखर कोइराला लगायतको उपस्थिति थियो।

महिला सङ्घको मोरङ जिल्ला समितिले प्रदेशस्तरीय दुई दिन प्रशिक्षण कार्यक्रम गरेको हो। तर महिला सङ्घका एक केन्द्रीय सदस्य कल्याणी रिजालबाहेक अरू कुनै केन्द्रीय स्तरका पदाधिकारी वा सदस्य कार्यक्रममा सहभागी छैनन्। रिजाल देउवाइतर समूहकी हुन्।

आफूलाई सङ्घको केन्द्रीय नेतृ बताउने गोमा केसीका अनुसार सङ्घको केन्द्रीय समिति र देउवा पक्षका नेताले कार्यक्रम हुन नदिन ठूलो प्रपञ्च गरेका छन्। जिल्ला–जिल्लाका नेता र कार्यकर्तालाई विराटनगरमा हुने महिला सङ्घको कार्यक्रममा नजान देउवा पक्षले दबाब दिएको थियो।

‘यति हुँदाहुँदै पनि प्रदेश नम्बर १ का १४ मध्ये ६ जिल्लाबाट नेपाली काङ्ग्रेसका सभापतिहरू आउनुभयो’, केसीले भनिन्, ‘खोटाङ, उदयपुर, सुनसरी, सङ्खुवासभा, पाँचथर र मोरङका पार्टी जिल्ला सभापतिहरू हुनुहुन्छ। त्यस्तै वखलढुङ्गा, तेह्रथुम र धनकुटा बाहेक ११ जिल्लाबाट महिला सङ्घका सभापति प्रशिक्षणमा सहभागी हुनुहुन्छ। ओखलढुङ्गाबाट महिला सङ्घका सहभागी हुनुहुन्छ।’

जिल्ला समितिलाई प्रदेश स्तरको प्रशिक्षण कार्यक्रम गर्ने अधिकार नभएको भन्दै देउवा पक्षले विराटनगर नजान कार्यकर्तालाई भड्काएको केसीको आरोप छ।

शशाङ्कले गरेनन् विरोध

उद्घाटन समारोहमा उपस्थित सबै नेताले पार्टी सभापति शेरबहादुर देउवाको तीव्र आलोचना गरे पनि महामन्त्री शशाङ्क यसबाट पृथक् थिए।

शशाङ्कले मात्र ४ मिनटको वक्तव्य दिए र देउवाको कार्यशैलीका बारेमा कुनै टिप्पणी नगरी आफ्ना पिता बिपी र माता दिव्याको स्मरण गरे।

‘हामी सानै थियौँ र पटनामा पढ्थ्यौँ, बिपी जेलमा हुनुहुन्थ्यो’, डाक्टर कोइरालाले भने, ‘मलाई प्रिन्सिपलले सोधे–तिम्रा पिताजी कहाँ हुनुहुन्छ ?’

‘मैले जेलमा भन्ने उत्तर दिएँ।’

प्रिन्सिपलले प्रश्न गरे, ‘के तिम्रा पिताजी नामुद डकैत हुन्?’

‘यसपछि त म धुरुधुरु रुन थालेँ। तर एकै छिनमा प्रिन्सिपलले मलाई सम्झाए। तिम्रा पिताजी महान् उद्देश्यका लागि महान् काममा छन्, चिन्ता नगर भने।’

 

देउवाका पालामा काङ्ग्रेस कता छ?: पौडेल

समारोहमा वरिष्ठ नेता पौडेलले महिला सहभागीलाई सम्बोधन गर्दै तपाईंहरूलाई यहाँ नआउन माथिको पेलान भए पनि त्यसको वास्ता नगरेर आउनु भयो र आफ्नो राजनीतिक जीवनमा खरो उत्रिनु भयो भन्दै धन्यवाद दिए।

पार्टी सभापति देउवा आफ्नो मित्र भए पनि विश्वासको सङ्कट भएको वरिष्ठ नेता पौडेलले बताए।

‘नेविसङ्घको गठन २०२७ सालमा भएपछि एक वर्षमा ५२ जिल्ला हिँडेर सङ्गठन बनाएर दोस्रो वर्षमै दोस्रो महाधिवेशन गराएर त्यसको अध्यक्ष देउवाजीलाई बनाउने भूमिका गर्ने म पनि हुँ’, पौडेलले भने, ‘तर २०३६ साल नआएको भए नेविसङ्घ कहाँ पुग्थ्यो थाहा छैन। अहिले उनै देउवाका हातमा पार्टी छ र पार्टीको अवस्था ३६ साल अघिको नेविसङ्घको जस्तै छ।’

पार्टीको महाधिवेशन गर्न सबै कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने आग्रह गर्दै नेता रामचन्द्रले कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्नुपर्ने धारणा प्रकट गरे।

प्रतिस्पर्धाले होइन कलहले हार्यौँ: सिटौला

पार्टीका पूर्व महामन्त्री कृष्ण सिटौलाले नेपाली काङ्ग्रेस प्रतिस्पर्धाले नभई कलहले निर्वाचन हारेको जिकिर गरे।

‘हामीबिचको प्रतिस्पर्धा कलहमा रूपान्तर भएको छ’, नेता सिटौलाको कथन थियो, ‘घर एउटै छ, कोही छाड्दैन तर त्यही घरभित्र लुछाचुँडी छ।’

उनले नेपाली काङ्ग्रेसका कार्यकर्ताले विगतको निर्वाचनमा कतै हँसिया–हतौडा, कतै हलो, कतै बाबुराम र कतै सङ्घीय समाजवादी फोरमलाई मत दिनु परेको चर्चा गर्दै तर हामीले के पायौँ त भन्ने प्रश्न गरे।

‘शून्य होइन माइनसमा पुग्यौँ’, सिटौलाको प्रश्न थियोे, ‘पार्टीभित्र अझै मुक्कामुक्की छ। कलह बढ्दै गएको छ। हामीले युवाहरूलाई एउटा रोगी र कमजोर पार्टी जिम्मा लगायौँ भने भोलिको पुस्ताले हामीलाई के भन्ला ? कस्तो मूल्याङ्कन गर्ला ?’

 

महासमितिको अपमान भयो: डा महत

संस्थापनइतर अर्का केन्द्रीय सदस्य डा रामशरण महतले पार्टीको केन्द्रीय समितिले महासमितिको अपमान गरेको आरोप लगाउँदै पार्टीको जुनसुकै पदमा बसेको व्यक्ति भए पनि आन्तरिक निर्वाचनमा उसले लड्नै पर्ने प्रावधान विधानमा राख्न माग गरे।

महतले भने, ‘केन्द्रीय समितिभन्दा महासमिति र महासमितिभन्दा महाधिवेशन ठूलो हुन्छ। त्यसैले महासमितिको निर्णयलाई केन्द्रीय समितिले काट्न पाउँदैन।’

उनले नेताले आफ्नो अनुकूल हुने गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्न नपाउने चेतावनी दिँदै सम्पूर्ण क्रियाशील सदस्यको नामावली वेब साइटमा राख्न माग गरे।

 

पहिले हामी आफू सुध्रौँ : डाक्टर शेखर

केन्द्रीय सदस्य शेखरले हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौँ भन्ने आग्रह गर्दै कार्यक्रमको हल खालि हुनु अनुशासनको कमी हो भन्ने टिप्पणी गरे।

‘हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर के नेपाली काङ्ग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ?’, शेखरको प्रश्न थियो, ‘हामी आफूलाई लोकतान्त्रिक भन्छौँ तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ। के अहिलेको अवस्था ल्याउन नेपाली काङ्ग्रेस जिम्मेवार छैन?’

महासमितिको निर्णयलाई अटेर गरेर नेपाली काङ्ग्रेसको नेतृत्वले विधिको शासन नमानेको भन्दै उनले यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीजीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्ने टिप्पणी गरे।

उनले पार्टी सभापतिले अब महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियान चलाउनु पर्ने आग्रह गरे।

‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली काङ्ग्रेस अझ कमजोर हुन्छ’, शेखरले भने, ‘जागरण अभियानका क्रममा म काभ्रे खटिएको छु। तर काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण ? त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell