PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

'पूर्व-पश्चिमका अपराधी एकै भएर अपराध गर्ने, कार्यालय जोडिएका प्रहरीमा किन विवाद'?



पहिलोपोस्ट

'पूर्व-पश्चिमका अपराधी एकै भएर अपराध गर्ने, कार्यालय जोडिएका प्रहरीमा किन विवाद'?

काठमाडौँः आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौँमा धेरैपछि एउटा अनौठो दृश्य देखियो। विनाशकारी भूकम्पछि नेपाल आयल निगमको जग्गामा कार्यालय बनाएर काम गर्दै आएको अपराध महाशाखा र परिसर प्रमुख कुम जोडेर कार्यक्रममा देखिए।

परिसर र महाशाखा एकै स्थानमा भए पनि दुई कार्यालयका प्रमुख  (एसएसपी)  को मिलन खासै देखिँदैन। एक वर्षअघि परिसरको जिम्मेवारी सम्महालेका तत्कालीन एसएसपी विश्वराज पोखरेल र महाशाखा प्रमुख धीरजप्रताप सिंहको सम्बन्ध सतहमा नै आएको थियो। काँडाधारीमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या प्रकरण अनुसन्धानमा दुई निकायबीच कुनै तालमेल नै देखिएन।

एसएसपी पोखरेल र सिंहमात्र होइन यसअघिका महाशाखा प्रमुख दिवेश लोहनी र परिसर प्रमुख रवीन्द्र धानुकको पनि खासै राम्रो सम्बन्ध जम्न सकेको थिएन। २०७४ भदौमा क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन प्रकरणमा महाशाखाले मात्र कामको क्रेडिट लिएको भन्दै परिसर प्रमुख धानुक असन्तुष्ट देखिएका थिए।

तर केही दिनअघि मात्र महाशाखा र परिसरका जिम्मेवारी पाएका एसएसपी सहकुल बहादुर थापा र उत्तमराज सुवेदीले भने प्रहरीमा देखिएको विवाद र असन्तुष्टि कम गर्न सहकार्य गरेर अगाडि बढ्ने दाबी गरे।

आइतबारको पात्रकार सम्मेलनमा धेरै समय दुबै जनाले यही विषयमा नै खर्चे। दुई कार्यालयबीच सम्बन्ध बिग्रिएको दाबी गर्दै एसएसपी थापाले अब एक भएर काम गर्ने बताए। ‘पूर्व-पश्चिमका अपराधी एक भएर अपराध गर्न हुने। हामी सँगै कार्यालय जोडिएका किन एक नहुने।' एसएसपी थापाले भने।

दुई कार्यालयको कामको प्रकृति भने फरक छ। तर कतिपय अनुसन्धानमा सहकार्य हुन नसक्दा घटनाले जटिल मोड समेत लिन पुगेका छन्। प्रहरीभित्र नै तालमेल नमिल्दा आम मानिसको प्रहरीप्रतिको विश्वासमा असर पर्ने भएकाले प्रहरीबीचमा एकता आवश्यक भएको एसएसपी सुवेदीको भनाई।

‘पुलिस कमजोर भयो भने सबै कुरा कमजोर हुन्छ। बिग्रिएको सम्बन्ध सुधार्ने हो‘ एसएसपी सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell