विकिलिक्सका संस्थापक जुलियन असान्जे विरुद्धको बलात्कार मुद्दा पुन: ब्युँतिने भएको छ। सन् २०१० मा उनीमाथि लगाइएको बलात्कारको आरोपमाथिको मुद्दा पीडितका वकिलले ब्युँताउने बिबिसीले जनाएको छ।
असान्जेले यसअघि नै आफूविरुद्धको आरोप अस्विकार गरेका थिए। सन् २०१२ मा उनले लण्डनस्थित इक्वेडोरियन दूतावासमा शरण मागेका थिए।
असान्जे इक्वेडोरियन दुतावासको शरणमा पुगेपछि बलात्कारको मुद्दा अगाडि बढाउन नसकिएको भन्दै स्विडिस् वकिलहरुले दुई बर्षअघि मुद्दा बन्द गरेका थिए।
तर असान्जेले इक्वेडोरियन दुतावास छोडेपछि बलात्कारमाथिको अनुसन्धान शुरु गर्न बाटो खुलेको छ। स्विडेनकी सरकारी न्यायधिवक्ता इभा मारी पर्सनले असान्जे विरुद्धको मुद्दा ब्युँताइने बताएकी छिन्। ‘असान्जेले बलात्कार गरेको शंका गर्नुपर्ने आधारहरु अझै पनि छन्,’ उनले भनिन्, ‘अहिले उनले इक्वेडरको दुतावास छोडेका छन्, मुद्दाको अवस्था फेरिएको छ र यो मुद्दा पुन: एकपटक अगाडि बढ्ने अवस्थामा आइपुगेको छ।’
४७ बर्षीय असान्जे अहिले धरौटीको शर्त नमानेको अभियोगमा लण्डनको बेलमार्स जेलमा ५० हप्ताको जेल सजाय भोगिरहेका छन्।
असान्जेलाई सन् २०१० मा जर्मनीको स्टकहममा भएको विकिलिक्स सम्मेलनमा दुईजना महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। तर उनले यौन सहमतिमा हुन्छ भन्दै आफूमाथिको आरोप अस्विकार गर्दै आएका थिए।
उनीमाथि महिलालाई जथाभावी हातपात गरेको र यौन हिंसा गरेको आरोप पनि लागेको थियो तर समय अभावका कारण सन् २०१५ यो मुद्दा पनि बन्द भएको थियो। स्विडेनका न्यायधिवक्ताहरुले सन् २०२० को अगस्टमा अनुसन्धानको म्याद सकिनु अगाडि नै मुद्दा ब्युँताउने तयारी गरेका छन्।
पीडितका तर्फकी वकिल एलिजावेथ मासीले सन् २०१२ देखि पर्खिरहेको र आश गरिरहेको कुरा अहिले भएको प्रतिक्रिया दिएकी छिन्। उनले भनेकी छिन्, 'कुनै पनि बलात्कार पीडितले न्याय पाउन नौ बर्ष पर्खिनु हुँदैन।'