ललितपुर महानगरको प्राङ्गण भरिभराउ थियो। बिहानको सिमसिमे पानीले ल्याएको चिसो हटिसकेको थियो। महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीको शताब्दिऔं जन्मोत्सवलाई भव्य बनाउन सक्दो प्रयास गरेको थियो।
तर सयौंको संख्यामा उपस्थित स्थानीयहरु भने सय बर्ष बाँच्ने ‘टिप्स’ सुन्न हतारिरहेका थिए। तर त्यति चाँडै कहाँ पो सुन्न पाइन्छ र चाहेको कुरा ! कदर पत्र, सम्मानपत्र, दोसल्ला, माला, अनि नेताहरुका भाषण।
शताब्दि पुरुष जोशीकाबारे प्रशंसाका पुल बाँध्ने क्रम चलिरहेकै थियो पालैपालो। उता कार्यक्रम सञ्चालिका सदिक्षा श्रेष्ठलाई माइकमा भ्याइनभ्याइ थियो, फोटोपत्रकारको भीडलाई सम्हाल्न।
भाषणहरुका बीचमै लोककवि राजभाइ जकमीले जोशीका बारे लेखेको गीत सुनाए:
सत्यमोहन राजनीतिक प्राणी होइन
उनी त जननायक हुन्
राष्ट्रका अभिभावक हुन्।
अनि कार्यक्रम सञ्चालिकाले सत्यमोहन जोशीलाई आफ्ना अनुभव सुनाउन बोलाइन्। सबैका कान चनाखा भए। सदिक्षाले आग्रहको स्वरमा थपिन्, ‘सय वर्ष कसरी बाँच्ने? त्यसको रहस्य साटिने आशा छ।’
चम्किलो अनुहार, निधारमा रातो टीका, टाउकोमा सेतो फेटा, गलामा माला, सेता सर्लक्क मिलेका जुँगा। माइक अगाडि पुगेपछि सत्यमोहनले सञ्चालिका सदिक्षा श्रेष्ठतिर हेर्दै भने नेपालभाषामा भने, ‘निकै मीठो बोल्नुहुन्छ है तपाइँ।’ अनि भिडतिर हेर्दै नेपालभाषामै भने, ‘यो सम्मान सत्यमोहनलाई होइन, यो मेरो मातृभाषा र राष्ट्रभाषाको सम्मान हो।’
जोशीले नेपालभाषामा मन्तव्य शुरु गरेपछि गैर नेपालभाषीलाई अप्ठेरो पर्यो। गैर नेपालभाषी पत्रकारहरुमा त बुढाले नेपालभाषामै मन्तव्य सकाए भने के पो लेख्नेहोला भनेर हाँसो फैलियो।
पत्रकारको चिन्ता धेरैबेर टिकेन। जोशीले नेपालीमा भने, ‘यो सम्मानको व्याख्या गर्न मसँग कुनै शब्द छैन।’
विकासका नाममा सम्पदा र संस्कृति मासिँदै र नाशिँदै गएकोमा जोशी चिन्तित छन्। भौतिक विकासले मात्र देश संवृद्ध नबन्ने भन्दै उनले सरकारलाई सुझाव दिन पनि भ्याए। भने, ‘अहिले प्रधानमन्त्री संमृद्ध नेपाल, सुखी नेपाली भन्दै हिँड्छन्। तर ठूलो घर र सडक मात्रै बनाएर नेपाल संवृद्ध बन्दैन। हामीले हाम्रो भाषा, साहित्य र संस्कृतिलाई पनि संवृद्ध बनाउनु पर्छ।’
केही दिन अघि उनीसँग गरेको अन्तर्वार्तामा पनि उनले वर्तमान राजनीतिक नेतृत्वप्रति गुनासो गरेका थिए।
उनले नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउन नसक्नुको कारणबारे पनि बोले। 'सबैको कलम उही हो। कलमको चमत्कार त्यो बेला हुन्छ जब त्यसबाट लेखेको कुरालाई सम्प्रेषण गरिन्छ।' उनको संकेत नेपाली सहित्यका कृतिहरुलाई अंग्रेजीमा उल्था गर्नु पर्नेतिर थियो।
म धेरै बोल्दिनँ, धेरै समय लिन्नँ भन्दाभन्दै पनि करिब २५ मिनेट बोले र सय वर्ष बाँच्नुको 'टिप्स' दिए।
९५ वर्षको हुँदा नै नइ प्रकाशनले सय वर्ष नहुँदै शताब्दी पुरुषको उपमा दिएको बताउँदै उनले भने,' मैले शताब्दी पुरुष हटाउ भने। उनीहरुले मानेनन्। त्यसलाई उर्जाका रुपमा लिएँ। ५ वर्ष त जसरी नि बाच्छु भन्ने निधो गरेँ।'
ल अब कुरा सकाउँछु भन्दाभन्दै यो त बोल्नै पर्छ भन्दै फेरि थपे, 'अहिले यहाँ खानु हुँदैन भनेर खुबै कराइरहेका छन्। तर आफूलाई त्यही नभइ हुँदैन।' उनको संकेत 'अय्ला' (रक्सी) तर्फ थियो।
आफू बेलुकी सुत्ने बेला जहिल्यै एक पेग रक्सी खाएर निदाउने गरेको बताए।
अय्ला नै आफ्नो लागि औषधी भइरहेको छ भन्दै भने,'संसारका धेरै ठाउँमा पुगें। रक्सी नखाने मान्छे भेटिनँ। आफुलाई हुने गरी खाएसम्म त त्यो सोमरस हो। पिएसम्म बाँचिन्छ। कन्ट्रोलमा पिउने हो।'