
काठमाडौँः भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागू भएको छ।
दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरूलाई एनओसी बनाउन भन्दै मंगलबार सूचना प्रकाशित गरेको छ।
दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिब कारणसहित निवेदन दिनु पर्नेछ। साथै यात्रा गर्ने व्यक्तिको राहदानी र प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाई टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनु पर्नेछ।
रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरूको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनु पर्नेछ।
हाल भारतमा अध्ययन तथा व्यवसाय गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनु पर्नेछ।
पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको सङ्ख्यामा वृद्धि भएसँगै भारतले नेपालीमाथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।
यसअघि यो व्यवस्था लागू भए पनि कडाइ हुने गरेको थिएन्।