PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ने क पाको एकता जेठ ३ मा : झलनाथको आशंका, ३ नभए ४ र ५ मा प्रचण्ड, कार्यशैलीप्रति ईश्वर पोखरेलको असन्तुष्टि



विधुर ढकाल

ने क पाको एकता जेठ ३ मा : झलनाथको आशंका, ३ नभए ४ र ५ मा प्रचण्ड, कार्यशैलीप्रति ईश्वर पोखरेलको असन्तुष्टि

काठमाडौं : जेठ ३ गते सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एकताको वर्ष दिन पुग्दैछ। यो वर्ष दिन एकतालाई तल्लो तहमा पुर्‍याउनका लागि भन्दै विभिन्न कार्यदल बने। पटकपटक म्याद थपिए। विघटन पनि भए। तर, एकताले अन्तिम टुंगो भने पुग्न सकेको छैन।

वैशाख ९ गते नेपाल कम्यनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयञ्तीको दिन पारेर ७७ वटा जिल्ला अध्यक्ष र सचिवहरुको घोषणा गरियो। यसमा पनि केही जिल्लामा असन्तुष्टि देखिएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकता हुँदा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका थिए। त्यसपछि प्रदेश कमिटी बन्यो। पार्टी एकताको ११ महिना पछि जिल्ला कमिटीले नेतृत्व पाए।

अझै जन संगठन, केन्द्रीय विभागहरु, सल्लाहकार परिषद, सम्पर्क मञ्चहरुले नेतृत्व पाउन सकेका छैनन्। यसबीचमा पार्टी एकताको वर्ष दिन पारेर एकताका बाँकी काम टुंग्याएर घोषणा गर्ने तयारी ने क पाले गरिरहेको छ। यस्तो तयारीकाबीच ने क पाका सचिवालय सदस्यहरु नै असन्तुष्ट देखिएका छन्।

सुरुदेखि नै पार्टीका निर्णयहरु गर्दा ने क पाका सचिवालय सदस्यहरुले अध्यक्षहरुले एकलौटी गरिरहेको आरोप लगाउँदै आएका छन्। यस्तै असन्तुष्टि बुधवार युवा संघ नेपालको कार्यक्रममा पनि देखियो।

युवा संघ नेपालको २९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सचिवाल सदस्यहरुले घुमाउरो पाराले नेतृत्वको आलोचना गरे। एकताको काम टुंगिन नसकेको भन्दै निराशा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै ने क पाका महासचिवले जेठ ३ गते मदन भण्डारी स्मृति दिवसका दिन एकताका बाँकी कामहरुको निष्कर्ष सहितको घोषणा हुन सक्ने भन्दै सहभागीहरुलाई मदननगर बल्खुमा निम्तो गरे।

‘एकताका धेरै महत्वपूर्ण काम गरे पनि केही बाँकी छ भन्ने कुरामा धेरैको गुनासो सुनिन्छ। अब त्यो गुनासो धेरै दिन सुन्न पर्दैन। पार्टी एकता अबको केही घण्टाभित्र हुन्छ,’ महासचिव पौडेलले भने, ‘जेठ ३ गते बिहान मदन भण्डारीको स्मृतिसभा र एकता प्रकृयामा बाँकी रहेका महत्वपूर्ण विषय टुङ्ग्याउने तयारी भइरहको छ।’

उनीपछि बोल्न आएका सचिवालय सदस्य तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरलेले पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट नभएको तथा नेतृत्वको तजविजमा पार्टी चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट गर्न माग गरे। पार्टी एकताको १ वर्ष पुग्दा राजनीतिक कार्यदिशा स्पष्ट हुन नसकेको संकेत गर्दै उनले यसका लागि बहस गर्न जरुरी रहेको बताए।

उनले हिजो भिन्न अभ्यासबाट आएका पार्टीको एकतापछि त्यही अभ्यासले काम नगर्ने भन्दै नयाँ नीति र योजना बनाउन आवश्यक रहेको बताए।

उनले विचार, संगठन र नेतृत्वको विषयमा गहन छलफल रहेको बताए। 'पार्टीको राजनीतिक कार्यदिशा कस्तो हुने? नेतृत्व निर्माण कसरी गर्ने हो, संगठन कस्तो बनाउने हो यस विषयमा गम्भीर बहस गर्न जरुरी छ,' उनले भने, 'अहिलेसम्म नेतृत्व तहमा बसेकाहरुले पार्टीको कार्यदिशा नेतृत्व संगठनको विषयमा आफू अनुकुल व्याख्या गर्ने गरिएको छ। अब त्यस्तो हुनुहुँदैन।'

उनले पार्टी अहिलेसम्म नेताहरुको तजविजले चल्दै आएको भन्दै अगाडि भने, 'अब पार्टी कसैको तजविजले चल्दैन। यसरी पार्टी अगाडि बढ्न सक्दैन। हामी अहिले जो छौँ त्यतिबेला त पार्टी चल्ला त्यसपछिको नेतृत्व को? कसले पार्टी चलाउँछ?' उनले हरेक तहको नेतृत्वमा युवाहरुको प्रतिनिधित्व हुनुपर्ने बताए। 'त्यसका लागि युवाहरुले हस्तक्षेप गर्न जरुरी छ। विचार संगठन र नेतृत्वका प्रश्नहरुमा बहस गर्न जरुरी छ। अहिले सम्म नेतृत्वबाट सोलोडोलो तरिकाले हुन्छ, भइहाल्छ। चलिरहेको थियो र चलिरहेको छ भन्ने जवाफ आउँछ,' उनले भने, 'यस्तो हिसाबले पार्टी अब चल्दैन। यो बहसलाई अरुचीको रुपमा हेरियो भने पार्टी अगाडि बढ्न सक्दैन।'

नेता पोखरेलले अहिलेकै तरिकाले पार्टी अगाडि बढे पार्टी ठूलो ठूलो बन्दै गए पनि मिसन पूरा हुन नसक्ने बताए। 'निरासाको कुरा होइन। अर्को आशंकाको कुरा हो। ठूलो दुर्भाग्य नआउला भन्न सकिँदैन्,' उनको चेतावनी थियो।

तीन गते नै पार्टी एकता हुनेमा झलनाथको आशंका

कार्यक्रममा बोल्दै ने क पाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ने क पाका राजनीतिक कार्यदिशा गर्ने चुनौती भएको भन्दै कार्यदिशाका आधारहरु प्रस्तुत गरे।

उनले लोकतन्त्र,राष्ट्रियता सुशासन, सामाजिक आर्थिक सुशासन, सांस्कृतिक रुपान्तरण र वैदेशिक सम्बन्धबारे प्रष्ट धारणा तय गर्नुपर्ने बताएका हुन्।

‘हाम्रो लोकतन्त्रको चरित्र के हो? यो नै अन्तिम हो? यसले हामीलाई सबै अधिकार दियो? यर्थाथमा यो लोकतन्त्र पूँजिवादी चरित्रको छ,’ खनालले भने, 'हाम्रो अहिलेको निर्वाचन प्रणाली धनीका लागि मात्रै हुन्छ। यही रहे गरीबले चुनाव लड्न पाउँदैन। पूजीवादीहरुको मात्र प्रतिनिधित्व हुन्छ। यसलाई समुन्नत बनाउने कार्यदिशा तय गर्नुपर्छ।'

उनले पार्टी एकता भए पनि अब समाजवादी क्रान्तिका लागि गम्भीर बहस गर्न आवाश्यक रहेको बताए।

नेता खनालले महासचिव पौडेलले जेठ ३ गते पार्टी एकता हुन्छ भन्नेमा शंका व्यक्त गरे। 'जेठ ३ गते नै पार्टी एकता हुन्छ भन्न म सक्दिन। यस्ता आशाहरु हिजो धेरै पाइयो निरासा भइयो,' उनले भने, 'तीन गते नै नहोला तर जेठ महिना भित्र टुंग्याउँछौं।'

कार्यक्रममा खनालपछि बोलेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले चर्को भाषण गर्ने तर अरुका कुरा नसुन्ने प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए।

‘हामीसँग दुई वटा कान छन्। दुई वटा आँखा छन्। दुई वटा नाकका प्वाल छन्। हामीसँग एउटा मुख छ। तर हामी ज्यादा बोल्छौँ अरुको कुरा सुन्दैनौँ। बोल्ने कम, सुन्ने ज्यादा गर्नुस्,’ नेता नेपालले भने, ‘नबिराउनु नडराउनु। खाएको विष लाग्छ। नखाएको विष कसरी लाग्छ?’

भनेकै दिन नहुन सक्ला तर नसोचेको दिन ड्याम्मै हुन्छ

यता कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले तीन गते एकताका बाँकी कामको घोषणा गर्ने तयारी भएको बताए। 'तीन गते घोषणा हुन नसके चार गते, पाँच गते हुन्छ,' उनले स्पष्ट पारे।

'हल्ला भएकै दिन नहुन पनि सक्छ। पोहोर यसही मञ्चबाट आजकै दिन मैले हल्ला नगरिकन ड्याम्मै एकता हुन्छ भनेको थिएँ। त्यसको दुई दिन पछि एकता भयो। हल्ला भएको दिन नहुन सक्ला तर, चार पाँच छ गते जुन दिन पनि घोषणा हुन सक्छ,' उनले अगाडि भने, 'तपाईँहरु (युवा संघ)ले तीन गते नै भनेर अलि जोड दिनु भयो भने युवा संघको मात्र भए पनि एकता तीन गते नै घोषणा गर्न सक्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell