PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कञ्चनजङ्घा चढ्दा दुई भारतीयले गुमाए ज्यान, एक हराए



रासस

कञ्चनजङ्घा चढ्दा दुई भारतीयले गुमाए ज्यान, एक हराए

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताए। उनका अनुसार अर्का एक जना सम्पर्कविहीन छन्।

आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए। चुचुरोमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ। आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवैको मृत्यु भएको बताइएको छ।

यसैबीच बुधवार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन्। अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा शव तल ल्याउने प्रयास भइरहेको छ। कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ। ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ। त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकार बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell