PahiloPost

Jun 7, 2020 | २५ जेठ २०७७

धेरैका मुखमा परेका तर कसैका आँखामा नपरेका अवैधानिक च्याखुरा !



पहिलोपोस्ट

धेरैका मुखमा परेका तर कसैका आँखामा नपरेका अवैधानिक च्याखुरा !

  • राजु आचार्य-

कालिकोट जिल्लाको सन्नीघाट क्षेत्रमा च्याखुरा पालिएको देखेपछि संरक्षणकर्मी सोम जिसी छक्क परे। कारण थियो, प्राय: उच्च पहाडी तथा हिमाली भेगतिर मात्र देखिने यो प्रजाति यो ठाउँमा देखिनु उनको लागि नौलो थियो l समुन्द्र सतहबाट आठ सय पचास मिटरको उचाइमा रहेको स्थानमा यो चरा पाइनु जिसीका लागि अचम्मको कुरो थियो। खोज्दैजाँदा त्यहाँका स्थानीयले ठूलो संख्यामा च्याखुरा पालेको देखियो। स्थानीयहरु भन्छन्, 'यो च्याखुरा त जति पनि छन् हाम्रो गाउँमाl सबै भन्दा बढी पाउने भनेकै यै चरा हो'।' सो क्षेत्रमा यसलाई चकोर पनि भनिन्छl

सोम जिसीको समूहले सो च्याखुरको आवाज अभिलेख गर्‍यो। प्राकृतिक वासस्थानमा फोटो पनि खिच्न सफल भयोl संरक्षणकर्मी तथा अनुसन्धानकर्मी डा. हेमसागर बराल, क्यारोल इन्स्किप र हठन चौधरीले यो चरा सोचेभन्दा होचो ठाउँमा भेटिएको बताए। अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा होचो ठाउँमा भेटिएका थिए ती च्याखुराहरु।

तीन वर्षअघि पनि जाजरकोट जिल्लाको सदरमुकाम पुग्दा स्थानीय घरहरूमा च्याखुरा पालेको भेटिएको थियोl समुन्द्र सतहबाट एक हजार दुई सय १६ मिटर उचाइमा यो चरा पाउँदा नै आश्चार्यमा परिएको थियो। वातावरण क्षेत्रमा कलम चलाउने पत्रकार हरिहरसिंह राठौर भने जाजरकोटको झाप्रा र कार्कीगाउँमा पनि च्याखुरा पाइने बताउँछन्। यो स्थान समुन्द्र सतहबाट आठ सय पचास मिटरभन्दा होचो हो। 

यति होचो स्थानमै पाइने हो त च्याखुरा ! 

बेलायती लेखक तथा चराविद् क्यारोल इन्स्किपसहितको समूहद्वारा लेखिएको पुस्तकमा यो प्रजातिको चरा समुन्द्र सतहदेखि एक हजार तीनसय मिटरदेखि तीनहजार छ सय नब्बे मिटरसम्म पाइने भनेर उल्लेख गरिएको छ। कालिकोट भात्तडीका स्थानीय प्रभाकर बराल भने सो स्थानमा पहिल्यैदेखि च्याखुरा पाउने गरेको बताउँछन्। उनले भने, 'यी चराहरु हाम्रा हजुरबाका पालामा पनि पाइन्थे। हाम्रटा हजुरबाहरुलाई सोध्यो भने पनि वहाँहरुलाई नै थाहा छैन होला कहिलेदेखि थिए भनेर, हामीले त झन् थाहा पाउने कुरै भएन।' 

चरा अनुसन्धानकर्मी हठन चौधरी यति होचो स्थानमा पनि च्याखुरा पाइनुमा 'ठुला ठुला पहाडहरूले घेरेको उपत्यका' को कारण हो भन्छन्। अर्का वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरे भन्छन्, ' यिनीहरू पहिलादेखि नै थिए। तर हामीले अहिले आएर भेटाएका हौं। यसमा अन्य कुनै कारण छैन।' 

खाना, पानी, लुक्नको लागि प्रशस्त स्थान जुनसुकै प्राणीका लागि आवश्यक कुरा हुन्। यी सुविधाको उपलब्धतालाई हेरेर नै कुनै स्थानमा एक प्रजाति र कुनै अर्को स्थानमा अर्का प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन्। खाना, पानी, र बाससस्थानको उपलब्धताले नै यिनीहरुको संख्या पनि निर्धारण गर्दछ। समयक्रमसँगै प्रजातिको शारीरिक बनोट, बानी व्यहोरा, वरिपरिको वातावरण अनुसार कुन प्रजाति कता पाइने भनेर प्रकृतिले निर्धारण गर्दछl

मासुकै लागि च्याखुरा पालन

वनमा पाइनुपर्ने यी च्याखुरा स्थानीयले मासुकालागि पाल्ने गरेको पाइएको छ। काठमाडौं वा नेपालगन्जबाट पुग्ने जोकोहीको पनि छनौटमा पर्छ च्याखुराको मासु। अझ पहिले त बाहिर घरभएका सरकारी कर्मचारीका लागि छुट्टीको कोसेली नै च्याखुरालाई मानिन्थ्यो। एउटा भाले च्याखुरा तीन हजार पाँचसयसम्ममा बिक्री हुन्छ भने पोथी च्याखुराको मुल्य तीनहजारसम्म पर्छ। सन्नीघाट जस्तो सानो स्थानमा पनि यो नौ ठाउँमा पालिएको छl पाताल झर्ना गाउँपालिकामा मात्रै करिब तीनसय घरमा च्याखुरा पालिएको छ। मान्मा बजारमा पनि विभिन्न ठाउँमा करिब ५० वटा च्याखुरा पालिएको छ। रमाइलो त के छ भने घरमा पाल्ने च्याखुराकालागि पनि अण्डा वा चल्ले भने वनबाट ल्याइन्छ। अहिले त स्थानीयस्तरमै पनि चल्ला किनबेच हुने गरेको छ। 

च्याखुराको मासुमा नुनको प्रयोग नगरी सुप खाँदा निमोनियासमेत निको हुनेमा स्थानीयहरू विश्वास गर्छन्। कालिकोटका स्थानीयहरू त घरमा च्याखुरा पाल्नुलाई सामाजिक प्रतिष्ठासँग तुलना गर्छन्। स्थानीयहरू यसको भाले साथमा छ भने रातको समयमा मसानघाट जाँदा फरक नपर्ने बताउँछन्।

केही स्थानमा जुवा खेल्ने हिसाबले यिनलाई जुधाइन्छ पनि। उपल्लो मुस्ताङमा मानिसहरू मिलेर समूहमा लखेटेर समाउने वा मार्ने गर्दछन्। प्राध्यापक करनबहादुर साह भन्छन्, ' पश्चिम नेपालतिर घरमा कुनै विपद आइपरे च्याखुरा पालिएको छ भने विपत टर्छ भन्ने विश्वास गरिन्छ।'

कतिपयले भने वनका च्याखुरा समाउनको लागि पनि घरमा च्याखुरा पाल्ने गरेका छन्। घरमा पालेको च्याखुरालाई वनमा लगेर बाँधेर त्यसको वरिपरि पासो थापेर वनका च्याखुरा समाउने गरिन्छ। यसको लागि पनि सिजन अनुसार भाले र पोथीको प्रयोग गरिन्छ। माघदेखि चैत्र महिनासम्म भाले र चैत्र र बैशाखकोलागि पोथी च्याखुरालाई पासोको रुपमा थाप्ने गरिन्छ।

घरमा पाल्नु गैरकानुनी

नेपालको कानुनले च्याखुरालाई घरमा पाल्न प्रतिबन्ध लगाएको छ। नेपाल सरकारले खतराको नजिक रहेको प्रजातिमा यसलाई सूचिकरण गरेको छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण एन २०२९को पाँचौं संसोधनले वन्यजन्तु पालनको लागि कानुनी बाटो खुला गरेको त छ l तर नियमावली र कार्ययोजना तयार/स्वीकृत भएको छैन। त्यसैले अहिलेसम्म पालिएका च्याखुराहरु कानुनी रूपमा अवैध छन्l

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत विष्णु प्रसाद श्रेष्ठ भन्छन्, ' नेपालको कानुनले च्याखुरा लगायत कुनै पनि वन्यजन्तु पाल्न रोकेको छl मार्ने र बेच्ने पनि गर्न पाइँदैनl लिखित उजुरी आएको खण्डमा सम्बन्धित संरक्षित क्षेत्रका संरक्षण अधिकृत तथा डिभिजन वन कार्यालयका वन अधिकृतले कारबाहीको प्रक्रिया अगाडि बढाउँछन्।'

उता स्थानीयहरू भने एकैपटकमा १५ वटासम्म फुल पार्ने यो चराको प्रजाति लोप नहुने बताउँछन्। उनीहरुको तर्क छ, 'लोपै हुने भए त उहिल्यै भइसक्नुपर्ने, किनकी हामीले पाल्न र खान शुरु गरेकै बर्षौं भइसक्यो।'  नेपालमा हालसम्म कालिज, गिद्ध लगायतको चराहरूको कार्य योजना भने बनेको छl तर च्याखुराको सम्बन्धमा कुनै कार्ययोजना बनेको छैन।

च्याखुरा के हो खास?

यो उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने चराको एक प्रजाति होl पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा यसको संख्या बढी छ। नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिकप्याट्रिकले यो प्रजातिको अभिलेख गरेका थिएl कुनै बेला काठमाडौँ उपत्यकाको वरिपरि समेत भेटिने यो प्रजाति पछिल्लो समय नेपालभर घट्दै गएको छl यसलाई नेपाल सरकारले खतराको नजिक रहेको (near threatened) प्रजाति मानेको छl तर विश्वव्यापी रूपमा यिनको अवस्था र सङ्ख्या स्थिर मानिन्छl

संसारभर यसका १४ उप-प्रजातिहरू छन् l यो पाकिस्तानको राष्ट्रिय चरा पनि होl यसलाई संस्कृतमा छाकोर भनिन्छl दक्षिण भारत तथा पाकिस्तानमा नि:स्वार्थ प्रेमको प्रतिक मानिन्छ यो चरालाईl यो चरा कम उड्ने तर धेरै दौडने गर्दछl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell