
काठमाडौं : कतारको दोहाबाट आएको क्यु आर ६४४ विमान बिहान ८:२४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्यो। सधैँ झै विमानस्थलमा नेपाल प्रहरी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी खटिएका थिए तर फरक रुपमा। ल्यान्ड भएको विमानबाट यात्रुहरु बाहिरिनेक्रम सुरु भयो। अरु यात्रु झै एक पाकिस्तानी नागरिक कालो सुटकेस गुडाउँदै निस्किए।
सतर्क अवस्थामा रहेको सुरक्षा निकायले उनको सामानको जाँच गर्यो। तर, केही पनि भेटिएन। पूर्व सूचनाका आधारमा यहाँ कोभर्ट अपरेसनमा जुटेकाहरु निश्चिन्त हुन सकेनन्। फेरि चेक गर्न जुटिहाले। नभन्दै उनीहरुको सूचना र शंका वास्तविकतामा परिणत भयो।
‘उनको सुटकेस नक्कली भारतीय रुपैयाँले भरिएको थियो। हामीले तत्कालै नियन्त्रमा लियौं,' विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले भने। समातिएका व्यक्ति पाकिस्तानी नागरिक रहेछन्। कराँचीमा घर भएका नासिर उद्धिन उनको नाम।
त्यही विमानबाट बाहिरिँदै गरेका एक अर्का युवक केही समयपछि जाँच कक्षतिर देखिए। अप्रेसनमा सक्रिय रहेका कर्मचारी ती युवकलाई देख्दा झनै सशंकित भए। किनकि केही अघिमात्रै समातिएका उद्धिनले बोकेको ब्रिफकेस र मोहमद अतरले बोकेको ब्रिफकेस एउटै थियो।
‘समान ब्रिफकेस बोकेको देखेर झनै शंका लाग्यो। खोलेर हेर्दा झोलामा तरकारीमा प्रयोग हुने मसला थियो,' ठाकुरले भने। मसलाको आवरणमा लुकाइएको भेटियो नोट।
भन्सार कार्यालय, विमानस्थल प्रहरी र प्रहरीको विशेष व्युरोको टोली बिहानदेखि नै विमानस्थलमा 'ठूलो माछा' समात्ने तयारीका साथ जुटेको थियो। फेरि एक अर्का युवक पक्राउ परे। अब यो टोलीसामु हात लागिसकेका थिए तीन पाकिस्तानी नागरिक। तर, अझै चित्त बुझेको थिएन अभियानमा जुटेकाहरुलाई ।
‘हामीलाई यी भरियामात्र हुन् भन्ने लाग्यो। त्यसपछि प्रहरीसहित हामीले कोभर्ट अप्रेसन गर्यौं,' ठाकुरले सुनाए।
समातिएका उनीहरुलाई प्रहरीको कडा निगरानीमा बिफक्रेससहित छाडियो। सबैको चासो थियो उनीहरुलाई लिन को आउँदैछ भन्ने। नभन्दै एक युवक देखिए जसलाई देख्दा प्रहरी नै चकित भयो। ती अरु कोही थिएनन्, युनुस अन्सारी थिए।
राजनीति र अपराधको दुनियाँमा युनुस नयाँ नाम होइन। नक्कली नोट काण्डमा पटकपटक जेल परिसकेका युनुस नेसनल टेलिभिजनका संस्थापकसमेत रहिसकेका व्यक्ति हुन्। प्रहरीले उनीसँगै अन्य तीन जनालाई पनि समात्यो। समातिनेमा एक जना युवती पनि। सबै मिलाएर प्रहरीले ६ जनालाई नियन्त्रणमा लियो।
युनुस अन्सारीसहितको समूहबाट प्रहरीले आज जफत गरेको नक्कली नोट करीब ८ करोड रुपैयाँ भएको खुल्यो। साढे तीन घन्टाभन्दा बढी समय लाग्यो नोट गन्न मात्रै। दुई हजार दरका नोट ७ करोड ६७ लाख ९४ हजार भएको ठाकुरले बताए।