- भावना शर्मा -
झरीको गीत सुन्दै
जब यो शहर टेकेँ
अचानक खस्यो शिरमाथि बैजनी फूल
यसलाई म के मानौं
तिम्रो प्रेम वा ईश्वरको आशिष!
...
कुममा लत्रिएको झोलाभित्र
खुइलिएको खाम थियो
धमिलो सम्झनामा तिम्रै ठेगाना
बादलभित्र गुटमुटिएको बाफजस्तै
जुनको छातीमा टाँसिएको दागजस्तै
म भन्न सक्दिन
कहिलेदेखि तिमीलाई मुटुमा टाँसेर हिँडिरहेछु
तिमी भन्न सक्छौ?
आकाशको सीमाना कहाँसम्म छ....
...
फूलकै सिरानी हालेर
सुस्ताइरहेछ साँझ
नहराएको तिम्रो चिठीझैं
उसको छातीमा पनि केही अल्झिएको होला
मलाई छड्के नजर लगाउँदै टाढिएको घाममा
तिमीलाई खोज्दा फेरि सम्झिएँ
जीवनसँग सबैभन्दा नजिक
उज्यालो नै त हुँदोरहेछ
...
मभित्र गाडिएको तिम्रो रंगजस्तै
गाढा गाढा यी बैजनी फूल
किन झरे होलान् मेरै शिरमा
प्रेम काँडाको बाटो न हो
फेरि पैतालाको घाउ छोपिदिन
के तिमीले बिछ्यायो यहाँ फूलको गलैँचा?