काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७५' आगामी असार १७ गते हुने भएको छ। एनएसजेएफले आइतबार पत्रकार सम्मलेन गर्दै १६औँ संस्करणको अवार्डको मिति औपचारिक रुपमा घोषणा गरेको हो।
'अंग्रेजी मितिअनुसार हरेक वर्ष जुलाई २ मा इन्टरनेशनल स्पोर्ट्स जर्नालिस्ट डे मनाइन्छ। त्यही मितिलाई टार्गेट गरेर हामीले हरेक वर्ष जुलाई २ मै अवार्ड आयोजना गर्ने गरी योजना अनुसार यो मिति घोषणा गरेका हौँ,' एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।
गत वर्ष विश्वकप फुटबल लगायत ठूला खेलकुद प्रतियोगिताहरु आयोजना भएको हुँदा अवार्ड जेठ महिनामा भएको थियो। त्यसअघि भने भदौ महिनामा अवार्ड भएको थियो।
वर्ष २०७५ सालभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रशिक्षक र टिमलाई सम्मान गर्ने अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ। गत वर्ष भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा अवार्ड आयोजना भएको थियो।
यस पटक कूल १० विधामा अवार्ड प्रदान गरिने एनएसजेएफले जनाएको छ। यस पटक एउटा नयाँ विधासमेत थप गरिएको छ। इन्टरनेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड यस पटक थप गरिएको विधा हो।
यस बाहेक विगतमा जस्तै वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकहसित पिपुल्स च्वाइस अवार्ड, पारा एथलेट अवार्ड, स्पेशल अवार्ड, टिम अफ दि इअर, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी ९ विधामा अवार्ड प्रदान गरिनेछ।
'गत साल नै हामीले नयाँ विधा थप गर्ने योजना बनाएका थियौँ। हामी एआइपीएस र एआइपीएस एसियामा आबद्ध छौँ र एआइपीएस एसियाले यस अवार्डका एउटा सेलेक्सन कमिटि बनाएको छ। त्यसबाट सेलेक्ट भएको व्यक्तिले हामी इन्टरनेशनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गर्नेछौँ। हाम्रो अवार्डलाई अब अन्तर्राष्ट्रिय स्तरमा लैजाउँ भन्ने यसको सन्देश हो थपिएको विधाबारे अध्यक्ष सुवेदीले भने।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस् अवार्डका विजेताले एक-एक थान पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विजेताले नगद ५० हजार हात पार्नेछन्।
२०६० सालबाट सुरु भएको अवार्ड भूकम्पका कारण २०७२ मा बाहेक निरन्तर हुँदै आएको छ।
एनएसजेएफका अध्यक्ष सुवेदीले पल्सर स्पोर्ट्स अवार्ड एनएसजेएफको मात्र नभई नेपाली खेलकुद क्षेत्रको राष्ट्रिय अवार्ड भएको बताए। उनले यस अवार्डलाई अझ उचाईमा पुर्याउन के गर्न सकिन्छ भने छलफल गरिरहेको बताए।
पल्सर स्पोर्ट्स अवार्ड २०७५ को लागि एनएसजेएफका सुवेदीको संयोजकत्वमा मूल समारोह समितिलगायत विभिन्न उपसमितिहरुसमेत गठन भइसकेको छ। यस्तै एनएसजेएफका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमै विभिन्न विधाको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्नेछ।
यस पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइससहित स्पेशल अवार्डसमेत मनोनयन सार्वजनिक गरिने भएको छ। केही खेलाडीहरु नियमित विधामा अटाउन नसक्ने र उनीहरुको लागि पनि अवार्डमा समेटिने अवसर होस् भने मनोनयन सार्वजनि गरिने अध्यक्ष सुवेदीले जानकारी दिए।
हंशराज हुलास एण्ड कम्पनीसँग साढे २८ लाखको सम्झौता
यस्तै एनएसजेएफले अवार्ड कार्यक्रमको मुख्य प्रायोजक रहेको हंसराज हुलाश चन्द एण्ड कम्पनीसँग यस वर्षको अवार्डको लागि सम्झौतासमेत गरेको छ।
एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी र हंशराज हुलाश चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे।
२०७३ सालमा सुरु भएको सम्झौताको यो नवीकरण रहेको अध्यक्ष सुवेदीले जानकारी दिए। 'हामीले पाँच वर्षको लागि सम्झौता गरेका थियौँ र त्यसै अनुसार सम्झौतामा केही वृद्धिसहित नवीकरण भएको छ,' सुवेदीले भने।
सम्झौताअनुसार हंसराज हुलाश चन्द एण्ड कम्पनीले स्पोर्ट्स अवार्डका लागि नगद र जिन्सी गरेर साढे २८ लाख उपलब्ध गराउनेछ।
'एनएसजेएफ स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाउँदा हामी प्राउड छौँ। एनएसजेएफसँग हाम्रो सहकार्य १० वर्ष पुग्न लागिसक्यो। हामीले १ करोड बराबरको कन्ट्रिब्युट गरिसकेका छौँ।' हंसराज हुलाश चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले भने।
'यस वर्ष हामी २८ लाख भन्दा बढी सहयोग गर्दैछौँ र हामीले गत वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरेका छौँ।'
हंसराज हुलाश चन्द एण्ड कम्पनीले प्रायोजनमा ४ वटा पल्सर मोटसाइकल पनि समावेश छ। स्पोर्ट्स अवार्डमा उत्कृष्ट हुने पुरुष, महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डका विजेताले मोटरसाइकल पाउनेछन्।