
इटालियन क्लब एटलान्टा पहिलोपटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ। सिरी ए २०१८-१९ सिजनको अन्तिम लिग खेलमा ससुलोलाई ३-१ ले पराजित गर्दै एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो।
सन् १९०७ मा स्थापना भएको एटलान्टाले यस सिजन घरेलु प्रतियोगिता कोपा इटालियाको फाइनल खेलेको थियो। तर उपाधि जित्न भने सकेन। यस्तै सिरी बी ६ पटक जितेको छ।
घरेलु मैदानमा एक गोलले पछि परेर पनि एटालन्टाले पुनरागमन गर्दै तीन गोल फर्काएको हो। एटलान्टाका लागि डुभान जापाटा, पपु गोमेज र मारियो प्लासिकले एक-एक गोल गरे। ससुलोका लागि डोमेनिको बेराडीले गोल गर्दै अग्रता दिलाए पनि कायम राख्न सकेन। फ्रान्सेस्को माग्नानेलीले ८३औँ मिनेटमा रातो कार्ड पाएपछि ससुलोले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
सिजनको अन्तिम खेल जितेपछि एटलान्टाले ३८ खेलबाट ६९ अंक जोड्दै तेस्रो स्थान हात पारेको हो। एटलान्टासँग समान अंक जोडेको इन्टर मिलान हेड टु हेडमा पछि रहँदै चौथो भयो। इन्टरले अन्तिम खेलमा एम्पोलीलाई २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो।
उता एसपीएललाई पराजित गरेको एसी मिलान भने युरोपा लिगको लागि छनोट भएको छ। मिलान एटलान्टा र इन्टरभन्दा एक अंकले मात्र पछि पर्यो।
च्याम्पियन युभेन्ट्ससँगै दोस्रो स्थानको नापोली, एटलान्टा र इन्टरले अर्को सिजन च्याम्पियन्स लिगमा इटलीको प्रतिनिधित्व गर्नेछन्।
च्याम्पियन बनिसकेको युभेन्ट्स भने अन्तिम लिग खेलमा साम्पडोरियासँग २-० ले पराजित भयो। यस खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलेका थिएनन्। साम्पडोरियाले अन्तिम १० मिनेटभित्र दुई गोल गरेको थियो। साम्पडोरियाका लागि ग्रेगोर डोफेल र जियानलुजा काप्रोरीले एक-एक गोल गरे।