नेत्र विक्रम चन्द समूहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ। मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निश्क्रिय गरिसकेको छ। बिहान करिब १ बजे मिनी ट्रकमा आगजनी गरिएको छ।
हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको भट्टराईले बताए। आगजनीका कारण मानवीय क्षति भने भएको छैन ।
त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी गरिएको छ। नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो। अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले जनाएको छ।
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ।
यस्तै चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन्। नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन्।
पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो। ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्। उनको ढाड र अनुहारमा आगोले पोलेको छ। घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्व नै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। रासस