काठमाडौं : आज नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको छ। सडकमा सवारी साधानको संख्या सामान्य दिन भन्दा निकै पातलो देखिन्छ।
तर, संसदमा सवारी साधानको संख्याको विषयमा एउटै रुटमा हिँड्ने सांसदहरुले भने फरक फरक तथ्य देखाए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद महेश बस्नेतले विप्लवको बन्दलाई जनताले अस्वीकार गरेको दाबी गर्दै भने, 'सभामुखज्यू आज म सदनमा १० मिनेट ढिला आइपुगे किन भने आज कोटेश्वरको जाम अरु दिन भन्दा १० मिनेट बढी देखेँ। विप्लव समूहको बन्दलाई जनताले अस्वीकार गरेका छन् भन्ने कुराको प्रमाण त्यही हो।'
उनको भनाइप्रति प्रमुख प्रतिपक्षी दलका संसदहरुले भने लगातार कटाक्ष गरे।
सांसद पार्वती डिसी चौधरीले भनिन्, 'म बालकोट बस्छु। बालकोटबाट आउँदा पाँच मिनेटमा यहाँ आइपुगेँ। बाटो खुला थियो।'
अर्की सांसद रंगमती शाहीले बस्नेत माथि कटाक्ष गर्दै सबै गाडी कोटेश्वर गएको बताइन्। उनी संसदमा बस्नेत माथि कटाक्ष गर्नकै लागि उभिएकी थिइन्।
'बनस्थलीबाट आउँछु। जहिले पनि सँधै एक घण्टा लाग्थ्यो। आज बीस मिनेटमा आइपुगेँ। बनस्थली रुटका गाडीहरु सबै कोटेश्वरमा गएका रहेछन्, धन्यवाद,' उनले भनिन्।