.jpg)
काठमाडौं: ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न भएको छ। जिनियस म्युजिक कम्पनीद्वारा आयोजित अवार्ड समारोहमा ४८ विधामा संगीतकर्मी पुरस्कृत भएका छन्।
कार्यक्रममा 'जननी जन्मभूमी' बोलको गीतबाट गायक रमेश दाहाल सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड पाए भने यही विधामा राष्ट्रप्रेम गीतबाट विशाल पौडेलले जुरी अवार्ड पाए।
चलचित्रको विधातर्फ गायक सुगम पोखरेलले चलचित्र क्याप्टेनको 'रहर छ सँगै' गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड जिते। सोही गीतबा अञ्जु पन्त सर्वोत्कृष्ट गायिका ठहरिइन्।
सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड ‘दाल भात तरकारी’ को 'भिजिट भिसामा' गीतबाट शम्भूजीत बास्कोटाले पाए। त्यस्तै सर्वोत्कृष्ट गीतकारको अवार्ड चलचित्र प्रसादको ‘वनकी चरी’ गीतका लागि बि.पाण्डेले पाए। चलचित्र 'चौका दाउ' को 'राधा पियारी' गीतका लागि गीतकार दयाराम पाण्डेले जुरी अवार्ड प्राप्त गरे। उदयराज पौडेलले चलचित्र ए मेरो हजुर–३ को 'जिन्दगी नै भन्दिन' बोलको गीतका लागि सर्वोत्कृष्ट संगीत संयोजक घोषित भए।
यसरी पप, आधुनिक, लोक दोहोरी, तामाङ सेलो, मौलिक तीज गीत लगायत विधाका लागि सर्वोत्कृष्ट गायक, गायिका, गीतकार, संगीतकार, संयोजक, सम्पादक घोषणा भएका थिए। आयोजकले वर्ष २०७५ मा सार्वजनिक भएका विभिन्न विधाका संगीतकर्मीहरुलाई पुरस्कृत गरेको हो।
त्यस्तै म्युजिक भिडियोका लागि सर्वोत्कृष्ट निर्देशक, महिला तथा पुरुष मोडलको अवार्ड समेत वितरण गरियो। आयोजकले एसियन म्युजिकलाई सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड दियो।
'सालको पात टपरी' गीतले पब्लिक च्वाइस अवार्ड जित्यो। त्यस्तै नेपाली गीत–संगीतको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याएको भन्दै संगीतकर्मी ईश्वर अमात्यलाई नगद २५ हजार राशीसहित जिनियस दीर्घ साधना सम्मानसहित लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको विज्ञप्तीमा जनाइएको छ।