PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा



पी बी खड्का

कर्णालीका चार जिल्लामा अघोषित लोडसेडिङले उपभोक्ता मारमा

सुर्खेत : सुर्खेत लगायत कर्णालीका चार जिल्लामा विद्युत अनियमितताले सास्ती दिएको छ। दैनिक पटकपटक विद्युत अवरुद्ध हुँदा सर्वसाधारणदेखि उद्योगी, व्यवसायीसमेत सास्ती खेप्न बाध्य छन्।

सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा विद्युत आउने र जानेको कुनै ठेगान छैन। यत्तिमात्रै होइन, कम भोल्टेजका कारण कतिपय विद्युतीय उपकरण चल्दैनन्। कतिपय उपकरण जल्दा सर्वसाधारण दोहोरो मारमा छन्। हाल कोहलपुर स्टेसनबाटै यहाँ विद्युत आपूर्ति हुँदै आएको छ।

वीरेन्द्रनगर– ६ मा रहेका व्यापारी रेशमकुमार अधिकारीले विद्युत आउने र जाने समस्याले निकै मर्का पारेको सुनाए। ‘विगत केही महिना अघिदेखि विद्युत आउने र जाने समस्याले निकै दुःख दिइरहेको छ ,’ उनले भने, ‘न भनेको समयमा काम गर्न सकिन्छ न भनेको समयमा विद्युत आउँछ।’

इलेक्ट्रिक पसल संचालन गर्दै आएका उनी विद्युत नहुँदा व्यापार समेत कम हुने बताउँछन् । ‘हरेक सामान विद्युतविना चल्दैन। बत्ती नहुनेवित्तिकै पसलको सामान बिक्री पनि गर्न मिल्दैन, मर्मत गर्ने सामान त झनै बत्ती नभइ हुँदैन,’ उनले भने, ‘कति ग्राहकलाई बत्ती छैन भन्दै पठाउनुपर्ने हुन्छ। कसरी व्यापार चलाउने?’

विद्युत आउने र जाने विषयले उपभोक्तामात्र होइन, विद्युत प्राधिकरणकै कर्मचारी समेत तनावमा छन्।

यता, नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले अहिलेसम्म कुनै पनि लोडसेडिङ् नभएको जनाएको छ। विद्युतको उपभोक्ता धेरै भएकाले लोड थेग्न नसकेर अनियमितता भएको हुनसक्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ।

प्राधिकरणका इन्जिनियर मनोज अर्यालले विद्युत अवरोध हुनुको खास कारण भने पत्ता नलागेको बताए। ‘यसरी पटकपटक विद्युत आउने र जाने हुँदा उपभोक्तालाई मात्रै होइन हामीलाई पनि तनाव भइरहेको छ,’ उनले भने।

प्राधिकरणले विद्युत अवरुद्धको समस्या सुल्टाउन ६ वटा टोली परिचालन गरे पनि अहिलेसम्म कुनै कारण भेटाउन सकेको छैन। दुई/दुई जनाको ६ वटा टोलीले विद्युतको पोल, इन्सुलेटर, कन्डक्टर लगायतको चेक गर्ने काम गरिरहेका छन्। तर, अहिलेसम्म कहाँ र किन विद्युत अवरुद्ध भइरहेको छ भन्ने समस्या पत्ता लगाउन सकेका छैनन्।

हाल सुर्खेतमा दैनिक ३५० एम्पिएर विद्युत आउनुपर्नेमा बढीमा २५० देखि २८० एम्पिएर मात्र आउने गरेको जनाइएको छ। यसले कम भोल्टेजको समस्या झेल्नु परेको प्राधिकरणको भनाई छ।

२०४५ सालको ३३ केभीए प्रसारण लाइनले भार थेग्न नसकेको हुँदा विद्युत आपूर्तिमा समस्या आएको हुनसक्ने अनुमान छ, प्राधिकरणका कर्मचारीको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell