
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच खेल भइरहेको छ।
समूह बी को यस खेलमा आर्मीले तीन खेलाडीको अर्धशतक मद्दतमा कर्णालीलाई २९१ रनको लक्ष्य दिएको छ।
कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनायो। आर्मीका ओपनरद्वय हरिकृष्ण झा र राजु रिजाल तथा रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरे।
कर्णाली प्रदेशका ललित प्याकुरेललले ५ विकेट लिए।
हरिकृष्ण र राजुले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गर्दै आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २८.३ ओभरमा राजु रिजाल ६६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए। उनलाई ललित प्याकुरेलले एलबीडब्लु आउट गरे। आर्मीका लागि सर्वाधिक रन बनाएका राजुले ७८ बल खेल्दै १० चौकासमेत प्रहार गरे।
३१औँ ओभरमा दोस्रो विकेटका रुपमा आउट भएका हरिकृष्णले १०० बल खेल्दै ४ चौकाको मद्दतमा ५२ रन जोडे। उनी रनआउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका हरिबहादुर चौहान ११ रन बनाएर आउट भए। त्यसपछि राजेश पुलामी मगर २ र कप्तान विनोद भण्डारी ५ रन बनाएर आउट हुँदा आर्मी ३६ ओभरमा १६९-५ को स्थितिमा पुगेको थियो।
तर चौथो नम्बरमा ब्याटिङ गरेको रोहित र करण केसीले छैटौँ विकेटका लागि ६७ रनको साझेदारी गरेपछि आर्मीको स्कोर बढेको हो।
रोहितले ५१ बल खेल्दै ४ चौकाको मद्दतमा ५६ रन बनाए। यस्तै करणले २६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८ रन योगदान गरे। त्यसपछि कुशल मल्ल २ र सुशन भारी शुन्यमा आउट भए। ४७.१ ओभरमा आर्मीको स्कोर २५८-९ थियो। तर लोकेश चन्द र शहाआ आलमले दशौँ विकेटका लागि नटआउट ३२ रनको साझेदारी गरेपछि आर्मीले २९० रन बनाएको हो। दुवै खेलाडीले नटआउट १६ रन जोडे। दुवैले समान २ चौका र १ छक्का प्रहार गरे। चन्दले ८ र आलमले १० बल खेले।
कर्णाली प्रदेशका ललितले ९ ओभर बलिङ गर्दा ६३ रन खर्चेर ५ विकेट लिए।
यस्तै टीयू मैदानमा भइरहेको अर्को खेलमा कप्तान पारस खड्का र सूर्य तामाङले उत्कृष्ट बलिङ गरेपछि प्रदेश ३ ले प्रदेश ४ लाई १०८ रनमै अलआउट गरेको छ। पारस र सूर्यले ४-४ विकेट लिएका हुन्।