
घरेलु मैदानमा ४६ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता सुरु हुनु करिब दुई साताको समय बाँकी रहँदा ब्राजिलको कप्तान परिवर्तन भएको छ। यसअघि कप्तान नेमारलाई हटाउँदै ब्राजिलियन फुटबल संघ (सीबीएफ) ले कोपा अमेरिकाका लागि डिफेण्डर डानी अल्भेजई नयाँ कप्तान चयन गरेको छ।
'डानिएल अल्भेजले कतार र होण्डुरोस विरुद्धको मैत्रीपूर्ण खेल र कोपा अमेरिकामा ब्राजिलको कप्तानी गर्नेछन्।' सीबीएफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। अल्भेजले पछिल्लो पटक सन् २०१८ मार्चमा जर्मनी विरुद्ध ब्राजिलको कप्तानी सम्हालेका थिए।
रसियामा गत वर्ष भएको विश्वकपको केही महिनापछि प्रशिक्षक टिटेले नेमारलाई स्थायी कप्तान चयन गरेका थिए। रसिया विश्वकपमा ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो।
यस पटक नेमारलाई हटाउँदै फ्रेन्च लिगमा उनीसँगै खेल्ने ३६ वर्षीय अल्भेजलाई कप्तान चयन गरिएको हो।
कोपा अमेरिका २०१९ आगामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजलिमै आयोजना हुँदैछ। आठ पटकको च्याम्पियन ब्राजिलले सन् २००७ यता उपाधि जित्न सकेको छैन।
यस पटक समुह ए मा रहेको ब्राजिलले जुन १४ मा बोलियासँग पहिलो खेल खेल्नेछ। यस समूहमा ब्राजिल र बोलियासँगै पेरु र भेनेजुएला छन्।
यस्तै समूह बी मा अर्जेन्टिना पाराग्वे, कोलोम्बिया र कतार छन् भने समूह सी मा उरुग्वे, इक्वेडर, चिली र जापान छन्।