PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार तेस्रो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार तेस्रो जित
फाइल फोटो

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ।

समूह बी मा रहेको आर्मीले मंगलवार कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यसअघि आर्मीले प्रदेश १ र प्रदेश २ लाई पराजित गरेको थियो। लगातार तेस्रो जितपछि समूह बी मा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको आर्मीले लगभग सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अब आर्मीले समूहको अन्तिम खेलमा नेपाल पुलिससँग खेल्न बाँकी छ। 

आर्मीको जित ओपनरद्वय हरिकृष्ण झा, राजु रिजाल र रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरे। यस्तै बलिङमा सुशन भारीले ४ विकेट लिए।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनाएको थियो। २९१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३५.१ ओभरमा १७३ रनमा अलआउट भयो।

हरिकृष्ण र राजुले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गर्दै आर्मीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। २८.३ ओभरमा राजु रिजाल ६६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए। उनलाई ललित प्याकुरेलले एलबीडब्लु आउट गरे। आर्मीका लागि सर्वाधिक रन बनाएका राजुले ७८ बल खेल्दै १० चौका समेत प्रहार गरे।

३१औँ ओभरमा दोस्रो विकेटका रुपमा आउट भएका हरिकृष्णले १०० बल खेल्दै ४ चौकाको मद्दतमा ५२ रन जोडे। उनी रनआउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका हरिबहादुर चौहान ११ रन बनाएर आउट भए। त्यसपछि राजेश पुलामी मगर २ र कप्तान विनोद भण्डारी ५ रन बनाएर आउट हुँदा आर्मी ३६ ओभरमा १६९-५ को स्थितीमा पुगेको थियो।

तर चौथो नम्बरमा ब्याटिङ गरेको रोहित र करण केसीले छैटौँ विकेटका लागि ६७ रनको साझेदारी गरेपछि आर्मीको स्कोर बढेको हो।

रोहितले ५१ बल खेल्दै ४ चौकाको मद्दतमा ५६ रन बनाए। यस्तै करणले २६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८ रन योगदान गरे। त्यसपछि कुशल मल्ल २ र सुशन भारी शुन्यमा आउट भए। ४७.१ ओभरमा आर्मीको स्कोर २५८-९ थियो। तर लोकेश चन्द र शहाआ आलमले दशौँ विकेटका लागि नटआउट ३२ रनको साझेदारी गरेपछि आर्मीले २९० रन बनाएको हो। दुवै खेलाडीले नटआउट १६ रन जोडे। दुबैले समान २ चौका र १ छक्का प्रहार गरे। चन्दले ८ र आलमले १० बल खेले।

कर्णालीका ललितले ९ ओभर बलिङ गर्दा ६३ रन खर्चेर ५ विकेट लिए।

उच्च लक्ष्य पछ्याउने क्रममा सुरुवातदेखि नै विकेट गुमाउँदा धेरै रन बनाउन सकेन। कर्णालीका ओपनर सुशान्त थापाले सर्वाधिक ३१ रन बनाए भने दशौँ नम्बरमा ब्याटिङ गरेका ललित प्याकुरेलले नटआउट २८ रन जोडे। दशौँ विकेटका लागि ललितले युनिस सिंहसँग ५३ रनको साझेदारी गरेका थिए। ललितले २८ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। अन्तिम विकेटको रुपमा आउट भएका युनिसले २७ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २० रन जोडे।

यस्तै आठौं नम्बरमा ब्याटिङ गरेका दिवन पुनले २६,कप्तान रविन्द्र जंग शाहीले १४ र दिनेश अधिकारीले १३ रन बनाए।

बलिङमा आर्मीका सुशन भारीले ९ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। करण केसीले ५ ओभरमा २ मेडन राख्दै १५ रन खर्चेर २ विकेट लिए। यस्तै शहाब आलमले ३.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए। हरि बहादुर चौहान र कुशल मल्लले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell