
काठमाडौँ : अमित श्रेष्ठको शतक र दिपेन्द्र सिंह ऐरीको ५ विकेट मद्दतमा नेपाल पुलिलसे प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ७५ रनले पराजित गरेको हो।
पुलिसको लागि ब्याटिङमा अमितले १०६ रन बनाए भने बलिङमा दिपेन्द्रले ५ विकेट लिए।
लगातार दोस्रो जितपछि पुलिसले समूह बी मा २ खेलबाट ४ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार ३ खेल जित्दै अपराजित रहेको त्रिभुवन आर्मी ६ अंकसहित समूह बी को शीर्ष स्थानमा छ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३.१ ओभरमा सबै विकेट गुमाएर १८५ रन बनाएको थियो। अमितले शतक बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिदा पुलिसले पुरै ओभर समेत खेल्न सकेन। अमितले ११८ बल खेल्दै १५ चौका र १ छक्काको मद्दतमा १०६ रन बनाएका हुन्। यस्तै कुशल भुर्तेलले २४, कप्तान मन्जित श्रेष्ठ र रामनरेश गिरीले समान ११ तथा पवन स्र्राफले १० रन जोडे। बाँकी ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङमा प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २-२ विकेट लिए।
१८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो। प्रदेश १ का सन्नी पुनले सर्वाधिक २७ रन बनाउँदा मिनास थापाले १९, दिपेश कँठेलले १५ , फिर्दोस अन्सारीले १२ तथा पुष्प थापाले १० रन बनाए।
बलिङमा पुलिसका दिपेन्द्र ऐरीले १० ओभरमा ४ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए। उनले ६० बल फाल्दा ४७ बल डट राखेका थिए। यस्तै ९.३ ओभर बलिङ गरेका ललित नारायण राजवंशीले २ मेडन राख्दै २० रन खर्चेर ३ विकेट लिए। आरिफ शेख र सागर ढकालले १-१ विकेट लिए।