- सूर्यप्रकाश कँडेल
चितवन : धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गर्ने तयारी भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास नहुँदै विवादमा परेको छ। बुधबार बिहान रंगशाला निर्माणस्थलको तारबार, जस्तापाताको बार लगायतका संरचना स्थानीय व्यक्तिहरुले डोजर लगाई भत्काइदिएका छन्।
फाउण्डेसनको साईट अफिसका घरबेटी सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका व्यक्तिले डोजर परिचालन गरी रंगशालाको बार भत्काएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बार भत्काउने कार्यक्रमा संलग्न भएको आरोपमा प्रहरीले विक र कँडेलसहित १६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुसँग थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नु पर्ने स्थानीयवासीको माग छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणस्थलको बार भत्काइनु दुःखद घटना भएको बताइन्। उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिनु गलत भएको भन्दै दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको बताइन्।