PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

सागको विशेष प्रशिक्षणको उद्घाटन



पहिलोपोस्ट

सागको विशेष प्रशिक्षणको उद्घाटन

काठमाडौं : आगामी डिसेम्वरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ।

विशेष प्रशिक्षणको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे। पहिलो चरणमा ७ खेलको प्रशिक्षण हुनेछ र प्रशिक्षक बिहीबारदेखि सुरु हुनेछ।

प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका जम्मा ८४ खेलाडी सहभागी छन्। सागमा समावेश विभिन्न २७ खेलमध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो।

अन्य सम्बन्धित संघबाट नामवली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण सुरु गर्न लागिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराए।

जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिए। प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो।

८४ खेलाडीमध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा सहभागी हुने छन्। बाँकी खेलाडीको प्रशिक्षण काठमाडौं हुनेछ। साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदैछ।

सदस्य–सचिव विष्टले शुभ कार्यले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गर्दै १३औं सागमा ऐतिहासिक नतिजा ल्याउन प्रशिक्षण सुरु गरिएको बताए। सदस्य–सचिव विष्टले नाम बुझाउन ढिलाइ गर्ने संघलाई पाठ होस् भनेरै ७ खेलको मात्र भएपनि पहिलो चरणमा विशेष प्रशिक्षण थालनी गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell