PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

खेलकूदमा ३ अर्ब ९९ करोड बजेट, मुलपानी क्रिकेट मैदानलाई १० करोड



पहिलोपोस्ट

खेलकूदमा ३ अर्ब ९९ करोड बजेट, मुलपानी क्रिकेट मैदानलाई १० करोड

काठमाडौं : मुलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गरिने गरी सरकारले १० करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा सरकारले खेलकूद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको हो।

उक्त बजेटमा मुलपानी मैदानको लागि १० करोडको बजेट छुट्याइएको छ।

त्यस्तै, सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्न प्रारम्भिक अध्यन गर्ने भएको छ। त्यस्तै, सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सबै स्थानीय तहमा एक - खेलग्राम निर्माण गरिने भएको छ। त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख छ।

यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रले लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ।

नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ।

यस्तै शिक्षा क्षेत्र अन्तर्गत प्रत्येक विद्यालयमा एक खेल शिक्षक राखिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell