PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोदीलाई पत्र लेख्दै अरुण जेट्लीले भने : मलाई दोस्रो कार्यकालमा मन्त्री नबनाउनुस्



पहिलोपोस्ट

मोदीलाई पत्र लेख्दै अरुण जेट्लीले भने : मलाई दोस्रो कार्यकालमा मन्त्री नबनाउनुस्
Photo:PTI

नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा भने सहभागी नहुने भएका छन्।

बिहीवारदेखि शुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उनी अस्वस्थताका कारणले सहभागी नहुने भएका हुन्। प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उनले आफूलाई मन्त्री नबनाउन आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मन्त्रिपरिषद् गठनको छलफलमा रहेका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा जेट्नीले लेखेका छन्, ‘मैले औपचारिक रुपमा यो पत्रमार्फत् तपाईँसँग यो आग्रह गर्दछु कि, अहिले म पूर्ण रुपमा स्वस्थ भइसकेको छैन, मेरो उपचार भइरहेको छ, त्यसैले नयाँ सरकारमा सहभागी हुनेगरी मलाई कुनै जिम्मेबारी नदिनु होला।‘

भारतीय जनता पार्टी (भाजपा)का ६६ वर्षीय नेता जेट्ली गत शुक्रबारदेखिको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित छन्।

उनले पत्रमा अगाडि लेखेका छन्, ‘गत १८ महिनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेबारी नलिन सुझाव दिएका छन्।‘

आफूलाई निको भएपछि भविष्यमा अन्य जिम्मेबारीमार्फत् सहयोग गरी नै रहने पनि उनले उल्लेख गरेका छन्। आफ्नो पार्टीले ३०३ सिट जितेर पार्टी कार्यालयमा भव्य विजय उत्सव मनाएको क्षण देख्ने अवसर गुमाउनु परेको स्मरण गरेका छन्।

विगत केही दिनदेखि नेता जेट्ली सार्वजनिक रुपमा देखिएका छैनन् भने उनको स्वास्थ्य अवस्थालाई लिएर आम चासो पनि बढेको छ।

रासस/एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell