PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काठमाडौँमा स्मार्ट पार्किङ: कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क



सहयोग रञ्जित

काठमाडौँमा स्मार्ट पार्किङ: कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क

काठमाडौँः काठमाडौँ महानगरपालिकाले शहरका विभिन्न स्थानमा 'स्मार्ट पार्किङ' सेवाको परीक्षण गरिरहेको छ।

सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो। महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स' सँग सहकार्य गरेर काठमाडौँमा स्मार्ट पार्किङको अवधारणा ल्याएको हो।

हाललाई खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको छ।

अहिले ती स्थानमा स्मार्ट पार्किङको परीक्षण भइरहेको छ भने छिट्टै औपचारिक रूपमा सुरुवात गर्ने महानगरको योजना छ।

 

कसरी गर्ने बुकिङ ?

सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा 'केटीएम पार्क' नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्नेछन्। सेवाग्राहीले पहिला 'केटीएम पार्क' एपमा गई दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन छनोट गर्नुपर्नेछ।

दुई पाङ्ग्रे सवारीसाधन पार्किङ बुक गर्न चाहनेले 'खिचापोखरी सडक,पाको सडक, प्युखा सडक र शुक्रपथमध्ये आफूलाई पायक पर्ने स्थानमा पार्किङ बुक गर्न सक्नेछन्।

चार पाङ्ग्रे सवारी साधनका लागि धर्मपथमा मात्रै पार्किङको व्यवस्था मिलाइएको छ। सबै स्थानमा गरेर करिब ७०० वटा दुई पाङ्ग्रे सवारी साधन र १०० वटा चार पाङ्ग्रे सवारी पार्क गर्न मिल्नेछ।

बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्नेछ। 

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अन्तर्गत रहेर यो कार्यक्रम सुरु गरेको हो। त्यसका लागि 'ह्विल्स ट्रुली एयर्स'सँग पाँच वर्षका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी विभागका निर्देशक ध्रुव काफ्लेले जानकारी दिए।

 

कति लाग्छ शुल्क?

सेवाग्राहीले सुविधा प्रयोग गरेबापत दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ (कर बाहेक) र चार पाङ्ग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ (कर बाहेक) लाग्ने काफ्लेले बताए।

पार्किङ स्थलमा एलइडी स्क्रिन राखिएको छ। त्यो स्क्रिनबाट पार्किङका लागि बुक भएको सवारी साधनको सङ्ख्या र पार्किङका लागि खाली रहेको सङ्ख्या देखाउँनेछ। एपको प्रयोग नगरी आउने ग्राहकहरूले भने त्यही स्क्रिनबाट पार्किङका लागि स्थान खाली भए नभएको बारे थाहा पाउनेछन्।

'अटोमेटिक बिलिङ मिसिन'बाट पार्किङबाट उठेको पैसाको रसिद दिइने भएकाले यसबाट हुने आम्दानीको खर्च पारदर्शी हुने बताउँदै काफ्लेले भने,' पार्किङ गरेको शुल्कको कूल आम्दानीको २० प्रतिशत रकम महानगरपालिकाललाई आउँछ। ८० प्रतिशत साझेदार कम्पनीले पाउँछ। महानगरदेखि राजश्वसम्म तिर्नुपर्ने सबै कर त्यही ८० प्रतिशतबाट उनीहरूले तिर्नुपर्छ। स्मार्ट पार्किङका लागि आवश्यक जनशक्ति, प्रविधि र मेसिनको रेखदेख सबै साझेदार कम्पनीले नै गर्नेछ।'

महानगरपालिकाले गत वर्षदेखि नै स्मार्ट पार्किङ सुरु गर्ने योजना बनाएको थियो। तर प्राविधिक कारणले सफल हुन सकेको थिएन। यस पटक भने प्राविधिक रूपमा दक्ष जनशक्तिसँगको सहकार्यमा सेवा सुरु गरेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

हाललाई पाँच स्थानबाट सुरु भएको यो कार्यक्रम निकट भविष्यमा अरू स्थानमा समेत सुरु गर्ने डंगोल बताउँछन्।

'आउने दिनमा यो सेवा दरबारमार्गमा पनि सुरु गर्ने योजना छ। अरू स्थानमा पनि पार्किङबारे कुरा हुँदैछ। स्मार्ट पार्किङ सेवाले अव्यवस्थित पार्किङको समस्या केही हदसम्म हटाउनेमा हामी विश्वस्त छौँ' डंगोलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell